काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको हो।
निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टितेल प्रतिलिटर ५ रुपैयाँले सस्तिएको छ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ भने काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।
यद्यपि, एलपी ग्याँसको लागत बढेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै एलपी ग्याँसको बिक्री मूल्य यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
