काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डमा एकतर्फी यातायात सञ्चालन भैरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, आयोजना निर्देशनालय (ए.डी.बी.)ले नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा एकतर्फी यातायात सञ्चालन भइरहेको सूचना सार्वजनिक गरेको हो।
विगत केही दिनदेखि आकस्मिक शितलहरका कारण सडक सतह चिप्लो भएको छ र केही स्थानमा कलभर्ट तथा सडक ढलानको कार्य भइरहेको छ। यस कारण सवारी साधन सञ्चालनमा कठिनाइ बढेको छ र यात्रुहरूलाई थप सतर्क रहन आग्रह गरिएको छ।
आयोजना निर्देशनालयले मौसमी सुधार नभएसम्म उक्त सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्था सम्बन्धी सही र अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ।
साथै, सडक सञ्चालनमा अवरोध आएमा वैकल्पिक मार्गहरू प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्ने सवारी साधनहरू नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल हुँदै गन्तव्यतर्फ जान सक्छन्। त्यस्तै, कालीगण्डकी चोक (गैंडाकोट)–रामपुर–पिपलडाँडा–पाल्पा–बुटवल मार्ग पनि वैकल्पिक रूपमा प्रयोग गर्न सकिनेछ।
काठमाडौँबाट बर्दघाट पश्चिम जाने वा बुटवल–काठमाडौँ फर्कने सवारी साधनहरूका लागि काठमाडौँ–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल मार्ग खुला छ। दुई पांग्रे र ४WD सवारी साधनको लागि दुम्कीबास–ज्यामिरे–डाँडाचोक–डमार–भुताहा मार्ग प्रयोग गर्न सकिने छ।
सडकको हालको अवस्थाबारे जानकारी लिन चाहनेहरूले जिल्ला ट्राफिक, दुम्कीबास प्रहरी, आयोजना निर्देशकका सूचना अधिकारी वा निर्माण व्यवसायीका ईन्जिनियरसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। आयोजनाले यात्रुहरूलाई असुविधा भएकोमा क्षमायाचना गर्दै, सुरक्षित र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
