काठमाडौं : काठमाडौं जिल्ला अदालतले केवाईसी ब्रान्डका इलेक्ट्रिक भ्यानको आयात, आपूर्ति तथा बिक्री–वितरण तत्काल रोक्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ।
मंगलबार अदालतले देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ बमोजिम आदेश जारी गर्दै केवाईसी ब्रान्डका गाडी मात्र नभई सोही स्पेसिफिकेसन मिल्ने अन्य नामका सवारीसाधनसमेत आयात तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको हो।
अदालतको आदेशअनुसार चिनियाँ कम्पनीबाट उत्पादित केवाईसी ब्रान्डका गाडीसँग मोडेल, बनावट र फिचर मिल्ने सवारीसाधन निवेदक वादीबाहेक अन्य कुनै पनि कम्पनी वा व्यक्तिको नामबाट आपूर्ति तथा बिक्री–वितरण गर्न नपाइनेछ। साथै, सम्बन्धित करार सम्झौता यथास्थितिमा कायम राख्न पनि अदालतले आदेश दिएको छ।
यसअघि अदालतको आदेशविपरीत केवाईसी ब्रान्डका गाडीहरू नाम परिवर्तन गरी ‘नियोसिया’ र ‘नियोसिया स्टार भी ईभी’ नाममा आयात तथा बिक्री भइरहेको आरोप लाग्दै आएको थियो।
उक्त प्रकरणमा ‘इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालि’ तथा त्यसकै सञ्चालकहरूले स्थापना गरेको ‘एम्बर मोटर्स प्रालि’ संलग्न रहेको जनाइएको छ। दुवै कम्पनीमा एउटै समूहका व्यक्तिहरू सञ्चालक रहेकाले अदालतको आदेश छल्दै गाडी आयात र बिक्री भइरहेको ठहर अदालतले गरेको छ।
अदालतको यो आदेशसँगै केवाईसी ब्रान्डसँग स्पेसिफिकेसन मिल्ने सबै प्रकारका इलेक्ट्रिक भ्यानको कारोबार हालका लागि पूर्ण रूपमा रोकिएको छ।
