२०८३ साउन १२ मंगलबार

मंसिरमा घरजग्गा कारोबार ८२ प्रतिशतले बढ्यो, राजस्व संकलनमा सुधार

ई आर्थिक    बिहिबार, पौस ३ २०८२
2K
Shares
मंसिरमा घरजग्गा कारोबार ८२ प्रतिशतले बढ्यो, राजस्व संकलनमा सुधार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा देशभर घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार अघिल्लो महिना कात्तिकको तुलनामा मंसिरमा घरजग्गा किनबेच करिब ८२ प्रतिशतले बढेको हो।

मंसिर महिनामा देशभर ५१ हजार ६ सयभन्दा बढी घरजग्गा कारोबार भएका छन्, जबकि कात्तिकमा यो संख्या करिब २८ हजार मात्र थियो। चालु आर्थिक वर्षको अहिलेसम्मकै उच्च मासिक कारोबार मंसिरमा भएको विभागले जनाएको छ। कारोबार बढेसँगै सरकारी राजस्व संकलनमा पनि उल्लेख्य सुधार आएको छ।

मंसिरमा भएको कारोबारबाट सरकारले करिब ४ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो महिना कात्तिकमा भने करिब २ अर्ब ७४ करोड रुपैयाँ मात्र राजस्व प्राप्त भएको थियो। घरजग्गा कारोबारबाट सेवा कर, दर्ता दस्तुर र पुँजीगत लाभकरजस्ता शीर्षकमा राजस्व संकलन हुने गरेको छ, जसमा मुख्य योगदान दर्ता दस्तुर र पुँजीगत लाभकरको रहने गरेको जनाइएको छ।

गत आर्थिक वर्षको मंसिर महिनासँग तुलना गर्दा पनि कारोबार बढेको देखिन्छ। गत वर्ष सोही महिनामा ४३ हजारभन्दा बढी घरजग्गा कारोबार हुँदा करिब ३ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। यस आधारमा चालु वर्षको मंसिरमा कारोबार झण्डै १९ प्रतिशतले वृद्धि भएको देखिएको छ।

घरजग्गा कारोबार बढ्नुको प्रमुख कारणका रूपमा सरकारले भू–उपयोग नियमावली २०७९ संशोधन गरी अस्थायी रूपमा जग्गाको कित्ताकाट खुला गर्नु रहेको बताइएको छ। नियमावलीअनुसार जग्गा वर्गीकरण पूरा नभएका स्थानीय तहमा असार २०८२ सम्मका लागि कित्ताकाट खुला गरिएको हो।

यसअघि कित्ताकाट बन्द हुँदा घरजग्गा कारोबार सुस्त भएको थियो। तर अस्थायी रूपमा कित्ताकाट खुलाइएपछि बजारमा पुनः चहलपहल बढेको देखिन्छ। सरकारले तोकिएको समयभित्र जग्गा वर्गीकरण सम्पन्न नगर्ने स्थानीय तहमा पुनः कित्ताकाट रोक्ने चेतावनी दिएको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij