सन्देशमार्फत पोखरेलले एमालेको सामूहिक शक्ति र ऐक्यबद्धतामाथि विश्वास व्यक्त गरेका छन्। पोखरेलले एमालेका सबै नेता कार्यकर्ताहरू एकताबद्ध भएर अघि बढेमा चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टी, आन्दोलन र राष्ट्रको हित सुरक्षित गर्न सकिने स्पष्ट संकेत गरेका छन्।
‘हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ’ भन्ने उनको दोहोरिएको आह्वानले महाधिवेशनको माहोललाई थप उत्साहपूर्ण र एकतामुखी बनाएको छ। निर्वाचनको निर्णायक क्षणमा आएको यस सन्देशलाई एमालेभित्र संगठनात्मक अनुशासन, वैचारिक स्पष्टता र मूल नेतृत्वप्रतिको भरोसाको प्रतीकका रूपमा हेरिएको छ।
यसअघि पार्टीका नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका थिए। महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ज्ञवालीले यो महाधिवेशन केवल संगठनात्मक प्रक्रियामा सीमित नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि समेत दूरगामी अर्थ राख्ने ऐतिहासिक क्षण भएको उल्लेख गरे।
उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको धारणा व्यक्त गरे। यसै अवसरमा नेता ज्ञवालीले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरेका छन्।