काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को पहिलो चार महिनामा देशको विदेशी विनिमय सञ्चितिमा ३० खर्ब ५५ अर्ब रहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, २०८२ असार मसान्तमा रु. २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले बढेर २०८२ कात्तिक मसान्तमा रु. ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ। अमेरिकी डलरमा पनि यस्तो सञ्चिति १९ अर्ब ५० करोड डलरबाट १०.३ प्रतिशत बढेर २१ अर्ब ५२ करोड डलरमा पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु. २४ खर्ब १४ अर्ब ६४ करोड थियो भने कात्तिक मसान्तमा १२.८ प्रतिशत वृद्धि भई २७खर्ब २४ अर्ब ६६ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा (नेपाल राष्ट्र बैंकबाहेक) रहेको सञ्चिति २५.८ प्रतिशतले बढेर रु. ३ खर्ब ३० अर्ब ८५ करोड कायम भएको छ।
त्यसैगरी, २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ। बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति आयात धान्न पर्याप्त रहेको देखिन्छ। तथ्याङ्कअनुसार, सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ५०.० प्रतिशत, १४४.९ प्रतिशत र ३७.८ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशतको तुलनामा सुधार भएको छ।
विशेषज्ञहरूले यस वृद्धिलाई विदेशी मुद्रा सञ्चितिमा स्थिरता र आर्थिक सुरक्षा दर्साउने सकारात्मक संकेतको रूपमा व्याख्या गरेका छन्।