ई-आर्थिक, काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्दसत्र आज दिउँसो ३ बजेदेखि सुरु भएको छ। यसअघि केन्द्रीय कमिटीको बैठक लम्बिएपछि बन्दसत्रको समय पटक–पटक परिवर्तन गरिएको थियो। सुरुमा १२ बजेका लागि तय गरिएको बन्दसत्र १ बजे हुँदै अन्ततः दिउँसो ३ बजे सुरु गरिएको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन प्रतिनिधिहरूले भोजन सकेपछि बन्दसत्र सञ्चालन गरिएको हो। काठमाडौँको भृकुटीमण्डपमा भइरहेको बन्दसत्रमा २ हजार २ सय ६२ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ।
यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टीको विद्यमान विधानलाई नै निरन्तरता दिने निर्णय गरेको थियो। बैठकले विधानको मूल भावना कायम राख्दै आवश्यक संरचनागत समायोजन मात्र गर्ने निष्कर्ष निकालेको हो।
निर्णयअनुसार बन्दसत्रबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ सचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन हुने व्यवस्था गरिएको छ। त्यस्तै, ९९ सदस्यीय पोलिटब्युरो र त्यसको एक तिहाइ सदस्य रहने गरी स्थायी कमिटी गठन गर्ने निर्णय पनि गरिएको छ।
पार्टी नेतृत्वका अनुसार बन्दसत्रमा विधान संशोधनका क्रममा सङ्ख्या र संरचनासम्बन्धी विषयमा मात्र परिवर्तन गरिनेछ भने अन्य प्रावधानहरू यथावत् रहनेछन्। विधान संशोधन पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।