२०८३ साउन १२ मंगलबार

चलचित्र परानले कमायो १७ करोड रुपैयाँ

ई आर्थिक    मंगलबार, मंसिर २३ २०८२
893
Shares
चलचित्र परानले कमायो १७ करोड रुपैयाँ

काठमाडौं।  पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन्। गत वर्ष पूर्णबहादुरको सारंगीले ऐतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गएको छ।

कुनै समय लगानी पनि उठाउन गाह्रो हुने अवस्थाबाट नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेको जानकार बताउँछन्। चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस एटदरेट सिनेपाः’ ले सार्वजनिक गरेको यही मंसिर २० गतेसम्मको तथ्यांकअनुसार चलचित्र परानले १६ करोड ९७ लाख ९३ हजार ३ सय ५४ रुपैयाँको व्यापार गरेको छ।

गत कात्तिक १४ गतेदेखि प्रदर्शनरत बसाइँसराइ र पारिवारिक कथामा तयार भएको उक्त चलचित्रलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन्।

नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गर्नुभएको उक्त चलचित्रका लागि हालसम्म पाँच लाख ९८ हजार ३०९ वटा टिकट बिक्री भएका छन्। चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन्।

साथै गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ ले तीन लाख ९१ हजार ९९२ वटा टिकट बिक्री गर्दै १२ करोड २६ लाख ६ हजार २ सय ४० रुपैयाँको व्यापार गरेको छ।

अभिनेता अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन्। सगरमाथा आरोहण र प्रेम कथामा आधारित उक्त चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।

कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ ले दुई लाख सात हजार ७१४ टिकट बिक्री गरी ६ करोड २३ लाख ६९ हजार २ सयको व्यापार गरेको छ। दयाहाङ राई, मिरुना मगर, ऋचा शर्मा, प्रेम सुब्बा, पुस्कर गुरुङलगायतकका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रमा लिम्बू समुदायको जारी परम्परा र च्याब्रुङको कथालाई मिसाएर पटकथा तयार गरिएको छ। यो चलचित्र गत कात्तिक २१ गतेदेखि प्रदर्शनरत छ।

बाल गायकका रुपमा परिचित भएका अशोक दर्जीको जीवनीमा आधारित रहेर तयार गरिएको चलचित्र ‘मनबिनाको धन’ ले सोही अवधिसम्म तीन करोड ७९ लाख दुई हजार ८७९ को व्यापार गरेको छ। टंक बुढाथोकीले निर्देशन गरेको उक्त चलचित्रका लागि हालसम्म एक लाख ४५ हजार ५९ वटा टिकट बिक्री भएका छन्।

यही मंसिर १२ गतेदेखि प्रदर्शनरत चलचित्र ‘हर्ष’ ले गत शनिबारसम्म घरेलु बजारमा २८ लाख दुई हजार ३ सय ४६ रुपैयाँको व्यापार गरेको छ। एकता पौडेलले निर्देशन गरेको उक्त चलचित्रका लागि आठ हजार ४३६ वटा टिकट बिक्री भएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij