ई-आर्थिक, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले १६औँ वार्षिकोत्सव मनाएको छ ।
रिलायन्स फाइनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको वित्तीय कारोबार गर्ने अनुमति २०६६ साल मंसिर १० गते प्राप्त गरी मंसिर १८ गतेदेखि सञ्चालनमा आएको हो । काठमाडौं महानगरपालिका–१, कमलादीस्थित आफ्नै भवनमा केन्द्रीय तथा मुख्य शाखा कार्यालय स्थापना गरी सेवा सुरु गरेको संस्थाले आज १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ।
संस्थाले हाल केन्द्रीय कार्यालयसहित काठमाडौँको न्यूरोड र सितापाइला, ललितपुरको इमाडोल, चितवनको नारायणगढ र टाँडी, कास्कीको महेन्द्रपुल, लमजुङको बेँशीशहर, काभ्रेपलाञ्चोकको बनेपा, धादिङबेँसी, झापाको चारआली, दमक, विर्तामोड र धुलाबारी, गोरखा बजार, रुपन्देहीको भैरहवा, मणीग्राम तथा बुटवल, कैलालीको धनगढी र अत्तरिया, कन्चनपुरको महेन्द्रनगर र बाँकेको कोहलपुर गरी जम्मा २२ वटा शाखामार्फत कारोबार गर्दै आएको छ।
१६औँ वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काठमाडौंको बालाजुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। त्यस्तै, विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले काभ्रेको बनेपा नगरपालिका–६, गोसाईँस्थानमा अवस्थित नैमिषारण्य संस्कृत गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ।
“वित्तीय सेवाको अर्को परिभाषा” भन्ने नारासहित संस्थाले विभिन्न शीर्षकमा सहज र सरल रूपमा कर्जा प्रवाह गर्दै आएको छ। साथै, आकर्षक ब्याजदरसहित विविध निक्षेप योजना सञ्चालन गरी ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ।
निक्षेप तथा कर्जाका अतिरिक्त संस्थाले भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, विभिन्न रेमिटेन्स सेवा, सी–आस्वा (C–ASBA), आईपीएस (IPS), कनेक्त आईपीएस (Connect IPS), एबिबिएस (ABBS) सेवा, ईलेक्ट्रोनिक चेक क्लियरिङ (ECC), एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, तथा एससीटी मोको (सजिलो पेमेंट्स, सजिलो लाइफ) जस्ता सेवाहरू प्रदान गर्दै आएको छ।