ई-आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको प्रकरणमा विशेष अदालतले उनलाई सफाइ दिएको छ। तथापि, आयोग चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगको दाबीअनुसार, सिलवालले आफ्नो जन्ममिति सम्बन्धमा उमेर ढाँटी गरेको ठहर छ।
उनलाई राष्ट्रसेवकको रुपमा बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गर्दा जन्ममिति २०७२।०४।१५ रहेको प्रष्ट जानकारी हुँदाहुँदै पनि उनले नागरिकताको प्रमाणपत्रमा २०१६।०७।२२ लेखेर पेश गरेका थिए। त्यसैगरी, उनले कुटनीतिक राहदानी प्राप्त गर्नका लागि आफ्नो उमेर झुठो विवरणसहित करिब ३ वर्ष छोट्याएर फाराम र अन्य कागजातहरू पेश गरेको आरोप आयोगले लगाएको थियो।
आयोगले सिलवालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५, १६ र २४ अनुसार सजाय हुनुपर्ने, साथै २०८०।०४।१५ देखि हालसम्म लिएको लाभ–सुविधा रकम रु. ३६,६२,१५४.१६ जफत/असुल गरियोस् भन्ने माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो।
विशेष अदालतले २०८१।०९।०२ मा सिलवाललाई सफाइ दिएको भए पनि, अख्तियारले उक्त फैसलामाथि चित्त नबुझी २०८२।०८।१७ मा सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सिलवालविरुद्धको अनुसन्धान र आवश्यक कानुनी प्रक्रियाहरू अघि बढेको जानकारी दिएका छन्।