चितवन । सौराहामा पर्यटन प्रवर्द्धन उद्देश्यसहित हरेक वर्ष आयोजना हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष पुस ११ देखि १३ गतेसम्म हुने भएको छ। क्षेत्रीय होटल संघ चितवनले यूनाइटेड हात्ती सञ्चालन सहकारीसँग सहकार्य गर्दै महोत्सव आयोजना गर्न लागेको हो।
महोत्सवमा हात्ती श्रृंगार प्रतियोगिता, वनभोज, हात्ती स्वास्थ्य शिविर, दिनचर्या परिचयलगायत कार्यक्रम हुनेछन्। संयोजक गुणराज थपलियाका अनुसार हात्तीमैत्री प्रतियोगिता, डुङ्गा दौड, हात्ती–जिप–डुङ्गा सफारीमार्फत पर्यटन प्रवर्द्धन गरिने तथा करिब ८० हात्ती सहभागी रहनेछन्।
चित्रकला, वक्तृत्वकला प्रतियोगिता, मानव–वन्यजन्तु सहअस्तित्वसम्बन्धी अन्तक्रियालगायत गतिविधि पनि समावेश छन्। महोत्सवले पर्यटक आगमन २५–३० प्रतिशतसम्म बढाउने अपेक्षा गरिएको छ। सो अवधिमा होटल तथा रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
करिब २५ स्टल रहने अनुमान गरिएको महोत्सवमा करिब २० हजार दर्शक उपस्थित हुने अपेक्षा छ, जसले चितवनको सफारी पर्यटन र स्थानीय रोजगारीलाई थप योगदान गर्ने आयोजकको भनाइ छ।