ई-आर्थिक, काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
प्रकाशित विवरण अनुसार २० मध्ये १० वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १० बैंकहरूले कात्तिक महिनाकै ब्याजदर कायम राखेका छन्।
एनआईसी एसिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन्।
यिनीहरूमध्ये एनआईसी एसियाले सबैभन्दा बढी ०.७५ प्रतिशतबिन्दु घटाएको छ। मंसिरमा यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.७५ प्रतिशत ब्याज दिने भएको छ।
व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले दिनेछ, जुन ६ प्रतिशत सम्म पुग्छ।
सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिनेछ, जसको अधिकतम ब्याजदर ४.७ प्रतिशत कायम गरिएको छ।
कुल औसतमा हेर्दा, व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकको ५.२० प्रतिशतबाट घटेर मंसिरमा ५.०४ प्रतिशत पुगेको छ।
संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर भने ०.०७ प्रतिशतबिन्दुले घटेको छ।
