काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा बढेर रु. २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ। २०८२ असार मसान्तमा सञ्चिति रु. २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको थियो। तीन महिनामा सञ्चिति ११.३ प्रतिशत ले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अन्तर्राष्ट्रिय मुद्राका आधारमा हेर्दा, विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा पनि वृद्धि देखिएको छ। २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति असोज मसान्तमा ८.७ प्रतिशत बढ्दै २१ अर्ब २१ करोड डलर पुगेको छ।
राष्ट्र बैंकको सञ्चिति हिस्सा १०.५% ले बढ्यो कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति असार मसान्तमा रु. २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा असोज मसान्तसम्म १०.५ प्रतिशत वृद्धि भई रु. २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) मा रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तको रु. २६३ अर्ब ४ करोड बाट १८.७ प्रतिशत वृद्धि भई असोज मसान्तमा रु. ३१२ अर्ब १० करोड पुगेको छ।
विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको हिस्सा २४ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
समीक्षा अवधिमा नेपालको विदेशी विनिमय सञ्चिति पर्याप्ततामा पनि सुधार आएको छ। उपलब्ध सञ्चिति १९.९ महिनासम्मको वस्तु आयात धान्न सक्नेछ। वस्तु तथा सेवा आयातका आधारमा सञ्चिति १६.४ महिनाको आवश्यकता पूरा गर्न पर्याप्त रहेको छ।
त्यस्तै, २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको अनुपात– कुल गार्हस्थ्य उत्पादन (GDP) सापेक्ष : ४८.८% कुल आयात सापेक्ष : १३६.६% विस्तृत मुद्राप्रदाय सापेक्ष : ३६.८% रहेको छ ऽ
यी सूचकहरू २०८२ असारमा क्रमशः ४३.८%, १२८.१% र ३४.१% रहेका थिए, जसले तीन महिनामा सबै सूचकमा सुधार भएको देखाउँछ।