काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा देशभरका निर्जीवन बीमा कम्पनीहरूले झण्डै १३ अर्ब रुपैयाँ बराबरको बीमा व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १८ निर्जीवन कम्पनी (जसमध्ये ४ लघु) मिलेर १२ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका हुन्।
प्राधिकरणका तथ्यांकअनुसार पाँच कम्पनीले मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्। ती कम्पनीहरूमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन्।
सबैभन्दा धेरै कारोबार सलिकोले १ अर्ब ४९ करोड रुपैयाँ, शिखरले १ अर्ब ३८ करोड, सिद्धार्थ प्रिमियरले १ अर्ब २२ करोड, हिमालयन एभरेष्टले १ अर्ब १९ करोड र एनएलजीले १ अर्ब २ करोड रुपैयाँभन्दा बढी कारोबार गरेका छन्।
लघु निर्जीवन बीमा कम्पनीमध्ये नेपाल माइक्रो इन्स्योरेन्स अग्रस्थानमा रहँदै ७ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको छ। त्यसपछि प्रोटेक्टिभ माइक्रो (६ करोड ९९ लाख), ट्रस्ट माइक्रो (६ करोड ९५ लाख) र स्टार माइक्रो (५ करोड ८२ लाख) रहेका छन्।
यस अवधिमा सबैभन्दा बढी बीमालेख बिक्री गर्ने कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ। कम्पनीले १ लाख २ हजारभन्दा बढी बीमालेख बिक्री गरेको छ। त्यसपछि शिखर (७९ हजार), हिमालयन एभरेष्ट (७३ हजार), नेको (७२ हजार) र सिद्धार्थ प्रिमियर (७० हजार) बीमालेख बिक्री गरेका छन्।
कुल रूपमा ठूला कम्पनीहरूले ६ लाख ८९ हजार बीमालेख, जबकि लघु कम्पनीहरूले ९१ हजार ६३१ बीमालेख बिक्री गरेका छन्। लघुबीच प्रोटेक्टिभ माइक्रो सबैभन्दा अगाडि रहँदै २५ हजार बीमालेख बिक्री गरेको छ।