काठमाडौं । दुई दिनको गिरावटपछि बिहीबार बढ्न थालेको सुनको मूल्य शुक्रबार पनि उकालो लाग्दै प्रतितोला ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सो दर २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो।
यससँगै पछिल्ला दुई दिनमा सुन तोलामा १ हजार २ सय रुपैयाँले महँगिएको हो।
यो साता आइतबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको थियो भने सोमबार स्थिर रह्यो। त्यसपछि मंगलबार १४ सय रुपैयाँले र बुधबार ११ सय रुपैयाँले घट्दै सुन प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा झरेको थियो। तर बिहीबार र शुक्रबार लगातार वृद्धि भएसँगै मूल्य फेरि उकालो लागेको छ।
चाँदीको मूल्य पनि सँगसँगै बढेको छ। बिहीबार प्रतितोला ३ हजार १० रुपैयाँमा रहेको चाँदी शुक्रबार ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।