२०८३ भाद्र ३० मंगलबार

वाणिज्य बैंकहरूको नाफा घट्यो, ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफामा

ई आर्थिक    शुक्रबार, कार्तिक २१ २०८२
3.5K
Shares
वाणिज्य बैंकहरूको नाफा घट्यो, ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफामा

ई-आर्थिक, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ। नेपालका २० वाणिज्य बैंकले तीन महिनामा जम्मा १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा बैंकहरूको कुल नाफा १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ थियो।

समग्र नाफा घट्नुमा १५ बैंकको नाफा घट्नु र एक बैंक घाटामा जानु मुख्य कारण मानिएको छ।

 ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी नाफा कमायो

समीक्षा अवधिसम्म सबैभन्दा बढी नाफा कमाउने बैंक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ।

बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब २२.९२ प्रतिशतले वृद्धि हो।

गत वर्ष शीर्ष स्थानमा रहेको नबिल बैंक यसपटक दोस्रो स्थानमा पुगेको छ। नबिलले यस अवधिमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। यस वर्षको पहिलो त्रैमाससम्म १ अर्बभन्दा बढी नाफा आर्जन गर्ने बैंकहरूको संख्या घटेर पाँचमा सीमित भएको छ। ग्लोबल आइएमई, नबिल, प्राइम, एभरेष्ट र कुमारी बैंकले ‘अर्ब क्लब’ मा स्थान जोगाएका छन्। गत वर्ष भने आठ बैंक यस सूचीमा थिए। यसपटक प्रभु, एनएमबि र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक क्लबबाट बाहिरिएका छन्।

समीक्षा अवधिसम्म सिटिजन्स बैंक इन्टरनेसनल घाटामा पुगेको एकमात्र बैंक बनेको छ। बैंकले असोज मसान्तसम्ममा २२ करोड ४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ, जबकि गत वर्ष सोही अवधिमा १९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफा वृद्धिदरका हिसाबले राष्ट्रिय वाणिज्य बैंक अगाडि रहेको छ। बैंकको नाफा २९५.७२ प्रतिशतले बढेको छ। गत वर्ष पहिलो त्रैमासमा १५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष सोही अवधिमा ५९ करोड ८७ लाख रुपैयाँ कमाएको हो।

२० वाणिज्य बैंकमध्ये १४ बैंकको नाफा घटेको छ। तीमध्ये कृषि विकास बैंकको नाफा सबैभन्दा बढी — ९६.९९ प्रतिशतले घटेको छ।

गत वर्ष १९ करोड ९ लाख रुपैयाँ नाफा गरेको बैंकले यो वर्ष पहिलो त्रैमासमा ५७ लाख रुपैयाँ मात्र नाफा कमाउन सकेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकको नाफा पनि क्रमशः ९६.९२ र ४६.३३ प्रतिशतले घटेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij