वासिङ्टन । अमेरिकी अटोमोटिभ तथा स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंक का शेयरधारकहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) एलोन मस्क का लागि एक ट्रिलियन अमेरिकी डलर बराबरको तलब प्याकेज अनुमोदन गरेका छन्।
यो हालसम्म कुनै पनि सार्वजनिक कम्पनीका सीईओका लागि स्वीकृत गरिएको विश्वकै सबैभन्दा ठूलो तलब प्याकेज मानिएको छ।
कम्पनीले बिहीबार सम्पन्न गरेको आफ्नो वार्षिक साधारण सभामा ७५ प्रतिशत शेयरधारकहरूले मस्कको तलब प्याकेजको पक्षमा मतदान गरेको जानकारी दिएको छ।
गत केही सातादेखि टेस्लाको बोर्ड, मस्क स्वयं र खुद्रा लगानीकर्ताहरूले उक्त तलब प्याकेज स्वीकृत गर्न सक्रिय अभियान चलाइरहेका थिए।
तर मस्कले यो तलब प्याकेज प्राप्त गर्नका लागि कम्पनीको प्रदर्शनमा ठूला उपलब्धि हासिल गर्नुपर्नेछ। उनले टेस्लाको बजार मूल्य बढाउनु, सुस्त भइरहेको कार बिक्री व्यवसायलाई पुनः गति दिनु, र रोबोट्याक्सी तथा अप्टिमस रोबोटिक्स परियोजनामा लक्ष्य पूरा गर्नु पर्ने शर्तहरू पूरा गर्नुपर्ने बताइएको छ।
यो निर्णयपछि मस्क विश्वकै सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा अझ मजबुत रूपमा टिक्ने अनुमान गरिएको छ।