काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्ममा वितरणयोग्य मुनाफा १३ प्रतिशतले वृद्धि भएको जनाएको छ। मुनाफा बढेसँगै बैंकको लाभांश वितरण क्षमता करिब ३० प्रतिशत पुगेको छ।
तर, प्रोभिजनिङ (इम्पेरमेन्ट चार्ज) बढेकै कारण बैंकको खुद नाफामा भने हल्का गिरावट देखिएको छ। अपरिष्कृत वित्तीय विवरण अनुसार, पहिलो त्रैमासको अन्त्यसम्म बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफाभन्दा २९ करोड ९६ लाख रुपैयाँ कम हो।
बैंकले नाफा घट्नुका मुख्य कारणका रूपमा खुद ब्याज आम्दानीमा ५.७७ प्रतिशतको कमी र इम्पेरमेन्ट चार्जमा वृद्धिलाई देखाएको छ। यद्यपि, फि तथा कमिशन आम्दानी ६.२९ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १.०३ प्रतिशतले घट्दा सञ्चालन मुनाफा पनि १०.८४ प्रतिशतले घटेको विवरणमा उल्लेख छ। इम्पेरमेन्ट चार्ज ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी (EPS) ३० रुपैयाँ १५ पैसा रहेको छ।
तर, नाफा घटेकै कारण त्रैमासिक EPS घटेर २५ रुपैयाँ ९७ पैसा पुगेको छ। असोज मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) १९.९७ गुणा रहेको छ।
हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ र जगेडा कोष ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ रहेको छ। पहिलो त्रैमासको अन्त्यसम्म बैंकले ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।