ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँमा पुगेको छ। मंगलबार सो दर प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यो साता सुनको मूल्यमा उतार–चढाव जारी छ। आइतबार प्रतितोला ७ सय रुपैयाँले बढेको सुन सोमबार स्थिर रहँदा मंगलबार भने १४ सयले सस्तो भएको थियो।
चाँदीको मूल्य पनि बुधबार घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २ हजार ९ सय ९० रुपैयाँमा पुगेको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो।
वित्तीय विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।