२०८३ साउन १० आइतबार

नेपाल र भारतबीच विद्युत सुदृढीकरणमा सहकार्य, सात प्रमुख प्रसारण परियोजनामा सहमति

ई आर्थिक    बुधबार, कार्तिक १९ २०८२
2.1K
Shares
नेपाल र भारतबीच विद्युत सुदृढीकरणमा सहकार्य, सात प्रमुख प्रसारण परियोजनामा सहमति

ई-आर्थिक, पोखरा ।   नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठक पोखरामा सम्पन्न भएको छ । नेपाल–भारत ऊर्जा सहकार्यमा गर्दै  सात प्रमुख प्रसारण परियोजनामा सहमति भएको हो ।

नेपाल र भारतबीचको सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (Joint Technical Team, JTT) को १७औं बैठक पोखरामा भएको थियो । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव  सन्दीप कुमार देव तथा भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरण (CEA) का प्रमुख इन्जिनियर  भगवान सहाय बैरवाको सह-अध्यक्षतामा सम्पन्न उक्त बैठक मिति २०८२ कार्तिक १७ र १८ गते (नोभेम्बर ३–४, २०२५) दुई दिनसम्म चलेको थियो ।

बैठकमा दुवै देशबीचको विद्युत आदान–प्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा दुवै पक्षबीच देहाय बमोजिमका प्रमुख सहमतिहरू भएको छन्

१. चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइन सम्बन्धी दुवै देशले आफ्नो-आफ्नो तर्फको विस्तृत परियोजना प्रतिवेदन (DPR) प्रस्तुत गरेका छन्। संयुक्त प्राविधिक टोलीले संयुक्त DPR नोभेम्बर २०२५ भित्र तयार गर्ने र सो प्रसारण लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने सहमति भएको छ।

२. नयाँ बुटवल–गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने व्यवस्था मिलाउने र यस लाइनमार्फत विद्युत आयात–निर्यात क्षमताको विषयमा उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप बैठक १५ दिनभित्र गर्ने निर्णय भएको हो ।

३. ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सितामढी लाइनमार्फत विद्युत आदान–प्रदान क्षमताको पुनर्मूल्यांकन अनुसार नेपालले १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको छ।

४. निजगढ–मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको DPR तयारीका लागि नेपालले एक महिनाभित्र आवश्यक प्राविधिक विवरण उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले संयुक्त DPR तयार गर्ने सहमति भएको छ।

५. लमही–लक्नउ ४०० के.भी. लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु (लमही वा कोहलपुर) सम्बन्धी अन्तिम अध्ययन संयुक्त रूपमा गरी DPR तयार गर्ने सहमति भएको छ।

६. ढल्केवर–मुजफ्फरपुर ४०० के.भी. लाइनको Reconductoring कार्यमा उच्च तापक्रम सहनसक्ने (HTLS) प्रविधि अपनाउने विषयमा DPR तयारी अघि बढाउने सहमति भएको छ।

७. रक्सौल–परवानीपुर र रामनगर–गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धिका लागि यी लाइनका कन्डक्टरलाई HTLS कन्डक्टरले प्रतिस्थापन गर्ने सम्भाव्यतामा संयुक्त अध्ययन गर्ने सहमति भएको छ।

बैठकले नेपाल र भारतबीचको ऊर्जा सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij