काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेकामध्ये पाँच जनालाई कारागार पठाइएको हो।
असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए। उनीहरूमाथि कर्तव्य ज्यान र आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता भई दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
त्यस्तै, प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवासका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) पक्राउ परेका थिए। उनीहरू पनि पुर्पक्षका लागि कारागार पठाइएका छन्।
सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका कैलाली लम्कीचुहा नगरपालिका–४ का १९ वर्षीय अनुयम भण्डारी पनि पुर्पक्षका लागि कारागार चलान भएका छन्। भण्डारीले काठमाडौंको क्रिकेट एकेडेमीदेखि भारतसम्म पुगेर क्रिकेट तालिम लिएका थिए। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
प्रहरीका अनुसार भण्डारीलगायतका व्यक्तिले गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा सहायक हवल्दार गुरुङको हत्या गरेका थिए। उक्त आन्दोलनमा ३ जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो।
प्रहरीका अनुसार अहिले पनि प्रहरी हत्या आरोपमा ७ जना व्यक्तिहरू हिरासतमा छन्। तीमध्ये सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, सुमित तितुङ, दिपक मगर, अलिश श्रेष्ठ र सौरभ तामाङ रहेका छन्।
उनीहरूमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ र केही दिनमै उनीहरूमाथि मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।