ई-आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 बाट पुनः प्रमाणित भएको छ। गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System) मा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्ने क्षमता देखाइ बैंकलाई प्रमाणित गरिएको हो।
बैंकले “विकास बैंकिङ गतिविधिहरूको प्रवाह” अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको छ र यस्तो प्रमाणपत्र प्राप्त गर्ने विकास बैंकमध्ये महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको थियो। यस प्रमाणपत्र बैंकले मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगष्ट १६) देखि लागु भएको गुणस्तर व्यवस्थापन प्रणालीको पहिलो सर्भिलियन्स अडिटपछि पुनः प्रमाणित हुन सफल भएको हो।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम राखेका, उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्न सक्ने र आफ्नो कार्य प्रणालीलाई निरन्तर सुधार गर्ने संस्था मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन्। यस प्रमाणपत्र प्राप्तिका लागि बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण र समग्र व्यवस्थापन प्रणालीको विस्तृत जाँच तथा अडिट गरिएको थियो।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन्।