ई-आर्थिक, काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचन र जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको बजेट रोक्का गरेको छ। अर्थ मन्त्रालयले नौ मन्त्रालयका ५३ पुँजीगत कार्यक्रम स्थगित गर्दै चालू खर्चबाट पाँच अर्ब ४३ करोड कटौती गरेको छ।
रोक्का गरिएका कार्यक्रममध्ये सहरी विकास मन्त्रालयका ६४ अर्ब, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १९ अर्ब ७६ करोड, खानेपानी मन्त्रालयका १४ अर्ब ३१ करोड, ऊर्जा तथा जलस्रोत मन्त्रालयका २ अर्ब ९७ करोड र पर्यटन पूर्वाधार विकासका ३ अर्ब ३६ करोड कार्यक्रम रहेको अर्थमन्त्रालयले जनाएको छ ।
आर्थिक कार्यविधि अनुसार आवश्यक पूर्वाधार निर्माण र पुनर्निर्माणमा खर्च केन्द्रित गर्न रोक्का गरिएको हो।
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि करिब आठ अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको छ। जेन–जी आन्दोलनमा करिब डेढ खर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन छ।