काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्व भव्य र सुरक्षित रूपमा मनाउनका लागि उपत्यकाका आठ स्थानमा विशेष व्यवस्था गरेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरले प्रत्येक वर्षझैं यस पटक पनि छठ पर्वका लागि व्यवस्थापन मिलाएको जानकारी दिएका हुन्। उनका अनुसार कमलपोखरी, गौरीघाट, बोक्सीदह, तीनकुने दोभान, टंकेश्वर, बल्खुस्थित कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाट लाई छठ मनाउने प्रमुख स्थलका रूपमा तयारी गरिएको छ।
पाण्डेका अनुसार ती स्थलहरूमा केही दिनदेखि सरसफाइ र व्यवस्थापनका काम तीव्र रूपमा भइरहेका छन्। उनले नागरिकलाई कुनै समस्या परे महानगरमा सम्पर्क गर्न आग्रह गरे।
छठ पर्वका स्थल वरपर सवारीसाधन पार्किङ नगर्न आग्रह गर्दै उनले करिब साढे तीन सय सरसफाइकर्मी र महानगर प्रहरी परिचालन गरिएको जानकारी पनि दिए।
तराई मूलका समुदायले मनाउने यो पर्व पछिल्ला वर्षहरूमा काठमाडौंसहित देशका हिमाल र पहाडी क्षेत्रमा पनि उत्साहपूर्वक मनाइने गरेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परासहित नदी, पोखरी र तलाउ किनारमा सजाइएका घाटहरूमा श्रद्धालुहरू भेला भई छठ पर्व मनाउने प्रचलन बढ्दो छ।