काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासभित्र ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति दिएको छ। ती आयोजनाहरूको संयुक्त उत्पादन क्षमता करिब २४१.५० मेगावाट रहेको विभागले जनाएको छ।
विभागका अनुसार हालसम्म मुलुकभर २६६ जलविद्युत् आयोजना निर्माण अनुमति प्राप्त अवस्थामा छन्, जसको कूल उत्पादन क्षमता १०,८२५ मेगावाट रहेको छ।
असोज मसान्तसम्म अनुमति प्राप्त आयोजनामा लापा खोला (४.७२ मेगावाट), लोअर बरुण (१३२ मेगावाट), म्याग्दी खोला बी (१२.५० मेगावाट), तल्लो लिखु क्यासकेड (६ मेगावाट), माथिल्लो मेलम्ची (४.९५ मेगावाट), सुपर सभा खोला (९.५५ मेगावाट), लोअर मेलम्ची खोला (४.९६ मेगावाट), अप्पर सेती एक (१३ मेगावाट), होङ्गु खोला (२८.९० मेगावाट) र इन्दुवा खोला (२४.९२ मेगावाट) रहेका छन्।
यसबाहेक, विभागले हालसम्म १८५ आयोजना सर्वेक्षणका लागि अनुमति दिएको छ भने ५९ आयोजना निर्माण अनुमति पाउन विभागमा आवेदन दिएका छन्। ती प्रस्तावित आयोजनाको कूल क्षमता १०,५३२ मेगावाट रहेको जनाइएको छ।
सौर्य ऊर्जाको क्षेत्रमा पनि गतिविधि देखिएको छ। हालसम्म १२ सौर्य आयोजनाले निर्माण अनुमति प्राप्त गरेका छन्, जसको संयुक्त क्षमता ८४ मेगावाट छ। थप ३ सौर्य आयोजना निर्माणको अनुमतिका लागि प्रक्रियामा रहेका छन्, जसको क्षमता १५ मेगावाट हो।
यद्यपि अनुमति लिएर पनि निर्माण कार्य अघि नबढाएका १५ जलविद्युत् आयोजनाको अनुमति खारेज गरिएको छ। त्यसैगरी, प्रक्रिया पूरा नगरेका ११ आयोजनाको आवेदन पनि अस्वीकृत गरिएको छ। यस्तै, ११८ आयोजना सर्वेक्षण अनुमति खारेज गरिएका छन्।