ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा देशका २० वटा वाणिज्य बैंकहरूले कुल १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशत कम हो। गत वर्षको भदौ मसान्तसम्म बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका थिए।
यस अवधिमा १० वटा बैंकको नाफा घट्दा १० वटाको नाफा बढेको छ। सबैभन्दा बढी नाफा आर्जन गर्न सफल बैंकमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रह्यो। बैंकले दुई महिनामा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा ३.९७ प्रतिशत बढी हो।
नबिल बैंक १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ नाफा सहित दोस्रो स्थानमा रहँदा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा सहित तेस्रो स्थानमा रहेको छ। यद्यपि दुवै बैंकहरूको नाफा अघिल्लो वर्षको तुलनामा क्रमशः २०.०९ प्रतिशत र १०.५१ प्रतिशतले घटेको हो।
अन्य बैंकहरूको नाफा विवरण हेर्दा, कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख, प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख, एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख, लक्ष्मी सनराइज बैंकले ९७ करोड ४१ लाख, एभरेष्ट बैंकले ९१ करोड २८ लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ५८ लाख र सिद्धार्थ बैंकले ८४ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन्।
नाफा वृद्धिदरको हिसाबले सिद्धार्थ बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकले गत वर्षको तुलनामा ४०.१७ प्रतिशतले नाफा वृद्धि गरी ८४ करोड ९० लाख रुपैयाँ कमाएको छ। नेपाल बैंकले २४.२७ प्रतिशतले वृद्धि गरी नाफा ८४ करोड २८ लाख पुर्याएको छ। लक्ष्मी सनराइज बैंकको नाफा १२.६७ प्रतिशतले बढ्दै ९७ करोड ४१ लाख, एभरेष्ट बैंकको १०.५७ प्रतिशतले बढ्दै ९१ करोड २८ लाख, माछापुच्छ्रे बैंकको २.७९ प्रतिशतले बढ्दै ४८ करोड १९ लाख, सानिमा बैंकको ४.६८ प्रतिशतले बढ्दै ७२ करोड १५ लाख र राष्ट्रिय वाणिज्य बैंकको ०.६३ प्रतिशतले बढ्दै ८८ करोड ५८ लाख रुपैयाँ पुगेको छ।
अर्कोतर्फ, सबैभन्दा धेरै नाफा घट्ने बैंकको सूचीमा हिमालयन बैंक पहिलो स्थानमा छ। बैंकको नाफा ६८.२६ प्रतिशतले घटेर ३७ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ। नेपाल एसबीआई बैंकको नाफा ३३.५९ प्रतिशतले घटेर ३५ करोड ४५ लाख रुपैयाँमा झरेको छ। कृषि विकास बैंकको नाफा ३३.५० प्रतिशत घटेर ५८ करोड ९८ लाख, प्रभु बैंकको २५.९७ प्रतिशतले घटेर ६७ करोड ६० लाख, एनआइसी एशिया बैंकको १४.२६ प्रतिशतले घटेर ४९ करोड ५१ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिटिजन्स बैंकको दुवै नाफा १२.२१ प्रतिशत र ५.६० प्रतिशतले घटेर ५३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।
नाफाको समग्र अवस्थाबाट हेर्दा, केही बैंकहरूले उच्च नाफा आर्जन गर्न सफल भए पनि धेरै बैंकहरू अझै चुनौतीपूर्ण अवस्थामा रहेको प्रष्ट देखिन्छ। आगामी महिना तथा त्रैमासिक वित्तीय विवरणहरूमा बैंकहरूको रणनीति तथा नाफामा कस्तो प्रभाव पर्छ भन्ने कुराले भविष्यको आर्थिक धारणा तय गर्नेछ।
