२०८३ साउन १० आइतबार

वित्तीय जानकारी इकाईद्वारा शंकास्पद कारोबार सम्बन्धी अद्यावधिक मार्गदर्शन सार्वजनिक

ई आर्थिक    शनिबार, कार्तिक १ २०८२
4.1K
Shares
वित्तीय जानकारी इकाईद्वारा शंकास्पद कारोबार सम्बन्धी अद्यावधिक मार्गदर्शन सार्वजनिक

ई-आर्थिक, काठमाडौं ।   नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू-नेपाल) ले शंकास्पद कारोबार तथा गतिविधि (शंका लाग्दो कारोबार/गतिविधि प्रतिवेदन – एसटीआर/एसएआर) सम्बन्धी मार्गदर्शन अद्यावधिक गरी सार्वजनिक गरेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार सूचक संस्थाहरूले पेश गर्नुपर्ने शंकास्पद विवरणहरू अझ स्पष्ट र प्रभावकारी रूपमा बुझाउने उद्देश्यले यो मार्गदर्शन अद्यावधिक गरिएको हो।

एफआईयू-नेपालका अनुसार, अद्यावधिक मार्गदर्शनमा शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्न सहयोग पुर्‍याउने ‘रातो संकेत’ (Red Flags) लाई तीन श्रेणीमा वर्गीकृत गरिएको छ—साधारण, क्षेत्र विशेष र सम्बद्ध कसुरअनुसार।

साधारण श्रेणीमा कृत्रिम बुद्धिमत्ता (कृबु) र अन्य नयाँ प्रविधिहरूको प्रयोग, साथै राजनीतिक रूपमा प्रभावशाली व्यक्तिहरू (पीईपीहरू) को संलग्नतालाई विशेष रूपमा समावेश गरिएको छ। यस्ता प्रवृत्तिहरूले कारोबारमा अस्वाभाविकता ल्याउन सक्ने भएकाले निगरानीमा राख्नुपर्ने एफआईयूको धारणा छ।

क्षेत्र विशेष रातो संकेत अन्तर्गत किस्ताबन्दीमा सामान बिक्री गर्ने संस्था (हायर पर्चेज कम्पनीहरू) र सवारी साधन विक्रेताहरूजस्ता क्षेत्रहरूलाई समेटिएको छ। यसले विविध क्षेत्रहरूमा देखिने शंकास्पद गतिविधिहरूको पहिचानमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

यस्तै, सम्बद्ध कसुर (पूर्वसर्त अपराध) का आधारमा तयार पारिएका रातो संकेतहरूले शंकास्पद गतिविधिहरूको गहिरो विश्लेषण तथा अनुसन्धान गर्न सहयोग गर्ने विश्वास एफआईयूले लिएको छ।

नयाँ मार्गदर्शनमा शंका लाग्दो कारोबार वा गतिविधि प्रतिवेदन (एसटीआर/एसएआर) पेश गर्नुपर्ने विवरण, समयसीमा र प्रक्रिया पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ। यसले सूचक संस्थाहरूबाट प्राप्त हुने प्रतिवेदनहरूको गुणस्तरमा सुधार ल्याउने र सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधको पहिचान तथा अनुसन्धानमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

एफआईयू-नेपालले यो अद्यावधिक मार्गदर्शन सबै सूचक संस्थाहरूलाई गोएएमएल प्रणालीमार्फत प्रसारण गरिसकेको छ। साथै, सबै सूचक संस्थाहरूलाई मार्गदर्शनको पूर्ण पालना गर्दै समयमै एसटीआर/एसएआर प्रतिवेदन पेश गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij