ई-आर्थिक, काठमाडौं । अविरल वर्षा र बाढीका कारण गत असोज १८ गतेदेखि देशभर विभिन्न निर्जीवन बीमा कम्पनीमा ठूलो संख्यामा बीमा दाबी दर्ता भएका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार, असोज ३० गतेसम्मको प्रारम्भिक तथ्यांकअनुसार १३ निर्जीवन र २ लघु बीमा कम्पनीमा कूल ७०४ वटा दाबी परेका छन्। ती दाबीहरूको जम्मा प्रारम्भिक अनुमानित क्षति रकम ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ भन्दा बढी पुगेको छ।
शिखर इन्स्योरेन्समा ६० करोड ९४ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दाबी गरिएको छ। त्यसपछि सिद्धार्थ इन्स्योरेन्समा ५० करोड ६४ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्समा ५० करोड ४७ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ।
अन्य प्रमुख कम्पनीहरूमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्समा ३७ करोड ५ लाख, नेशनल इन्स्योरेन्समा २९ करोड ४९ लाख र दि ओरियण्टल इन्स्योरेन्समा २० करोड ७७ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ।
त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा १६ करोड ९५ लाख, युनाइटेड अजोडमा १२ करोड ५६ लाख, नेको इन्स्योरेन्समा १२ करोड १० लाख, सगरमाथा लुम्बिनीमा १२ करोड ९ लाख, प्रभु इन्स्योरेन्समा १० करोड ४६ लाख र नेपाल इन्स्योरेन्समा १० करोड १८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ।
यसैगरी, सानिमा जिआईसीमा २ करोड ८५ लाख, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ लाख २० हजार र स्टार माइक्रो इन्स्योरेन्समा ८ लाख रुपैयाँ बराबरको क्षति दाबी दर्ता भएको बीमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणले प्रारम्भिक रूपमा संकलन गरेका यी विवरणहरू अझै अपडेट भइरहेका छन्। बीमा कम्पनीहरूले क्षति मूल्यांकनको प्रक्रिया अगाडि बढाइरहेका छन् भने पीडित बीमितहरूलाई यथाशिघ्र क्षतिपूर्ति वितरण गर्ने तयारी गरिएको प्राधिकरणको भनाइ छ।
