ई-आर्थिक, काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिइने अधिकतम औसत ब्याजदर घटाएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) को विवरणअनुसार भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.४६ प्रतिशतविन्दु थियो भने कात्तिक महिनामा सो घटेर ५.२० प्रतिशतविन्दुमा झरेको छ। यो आधारमा औसत अधिकतम ब्याजदरमा ०.२६ प्रतिशतविन्दुको गिरावट आएको देखिन्छ।
हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले भने असोज महिनामा कायम रहेको दरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने निर्णयसँगै समग्र औसत ब्याजदरमा गिरावट आएको हो। यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि ०.२२ प्रतिशतविन्दुले घटेको छ। बैंकहरूले निक्षेप संकलनको लागत घटाउने उद्देश्यले यस्तो निर्णय लिएको अनुमान गरिएको छ।
कात्तिक महिनामा ब्याजदर सबैभन्दा बढी घटाउने बैंकहरूमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक रहेका छन्। यी दुवै बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपमा एक प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। त्यसैगरी, एनआईसी एशिया बैंकले ५.७५ प्रतिशत, सानिमा बैंकले ५.६५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत र नेपाल बैंकले ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, प्राइम कमर्शियल बैंक, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले कात्तिक महिनाका लागि ५ प्रतिशत ब्याज दिने भएका छन्। नबिल बैंक, प्रभु बैंक र कृषि विकास बैंकले ४.९५ प्रतिशत ब्याज दिनेछन्। लक्ष्मी सनराइज बैंकले ४.७५ प्रतिशत ब्याजदर तोकेको छ। एभरेष्ट बैंक, कुमारी बैंक र हिमालयन बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।
नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने ब्याजदरमा कुनै परिवर्तन नगरी असोजको दरलाई निरन्तरता दिएका छन्। ग्लोबल आइएमई बैंकले सर्वाधिक ६ प्रतिशत ब्याजदर कायम राखेको छ।
ब्याजदर कटौतीसँगै निक्षेपकर्ताहरूको ब्याज आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिन्छ भने बैंकहरूको लागत व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ। आगामी महिनाहरूमा मौद्रिक नीतिको प्रभावसँगै ब्याजदरको प्रवृत्तिमा थप परिवर्तन आउन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन्।
कुन बैंकको व्याजदर कति ?
