काठमाडौं । गत भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका क्रममा भएको क्षति पछि निर्जीवन बीमा कम्पनीहरूमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म १४ निर्जीवन बीमा कम्पनी र चार लघु निर्जीवन बीमा कम्पनीमा जम्मा ३,१६३ वटा बीमा दाबी दर्ता भएका छन्।
बीचमा सबैभन्दा धेरै सम्पत्ति बीमामा १९ अर्ब ७१ लाख रुपैयाँ, मोटर बीमामा तीन अर्ब ४५ करोड, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा ३३ करोड, र अन्य बीमामा ३८ करोड ८६ लाख रुपैयाँ बराबरको दाबी परेका छन्।
प्रदेशगत रूपमा सबैभन्दा धेरै दाबी बागमती प्रदेशबाट परेको छ, जहाँ १,७०६ वटा दाबीबाट १७ अर्ब ५० करोड रुपैयाँ दाबी सृजना भएको छ। त्यसपछि कोशी प्रदेशमा २ अर्ब ३६करोड , गण्डकीमा १ अर्ब ७१ करोड, मधेशमा ६९ करोड, लुम्बिनीमा ४७ करोड, सुदूरपश्चिममा ३३ करोड र कर्णालीमा १० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ।
बीमा दाबी गरिएको मध्ये असोज २८ सम्ममा एक अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरिएको बीमा प्राधिकरणले जानकारी दियो ।
साथै, सम्पत्ति बीमाबाट सबैभन्दा धेरै एक अर्ब ५५ करोड रुपैयाँ, मोटर बीमामा ३६ करोड, र इन्जिनियरिङ/ठेकेदार जोखिम बीमामा करिब चार करोड रुपैयाँ भुक्तानी गरिएको छ।
प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा धेरै एक अर्ब ४५ करोड रुपैयाँ, कोशीमा २६ करोड र गण्डकीमा १० करोड रुपैयाँ भुक्तानी गरिएको हो ।
प्रदर्शनमा भएको तोडफोड, आगजनी तथा क्षतिको असरले निर्जीवन बीमा क्षेत्रमा ठूलो वित्तीय भार परेको देखिन्छ ।

