२०८३ साउन १० आइतबार

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र कर्जा वृद्धि, मुद्दती निक्षेपको हिस्सा घट्दो

ई आर्थिक    बुधबार, असोज २९ २०८२
6K
Shares
बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र कर्जा वृद्धि, मुद्दती निक्षेपको हिस्सा घट्दो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो समीक्षा प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र कर्जा प्रवाह दुबैमा वृद्धि भएको देखिएको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप रु.३२ अर्ब ८६ करोड (०.५ प्रतिशत) ले बढेर रु.७२ खर्ब ९६ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो निक्षेप रु.३५ अर्ब ३ करोड (०.५ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप १२.५ प्रतिशतले वृद्धि भएको छ।

२०८२ भदौ मसान्तमा कुल निक्षेपमा चल्ती निक्षेपको अंश ५.८ प्रतिशत, बचत निक्षेपको अंश ३८.० प्रतिशत र मुद्दती निक्षेपको अंश ४७.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अंश क्रमशः ५.२ प्रतिशत, ३१.० प्रतिशत र ५६.७ प्रतिशत रहेका थिए। सो अवधिमा संस्थागत निक्षेपको हिस्सा कुल निक्षेपमा ३५.२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३६.० प्रतिशतभन्दा अलि घटेको हो।

यसैगरी, समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा रु.४९ अर्ब २४ करोड (०.९ प्रतिशत) ले बढेर कुल रु.५५ खर्ब ४६ अर्ब ९४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.७३ अर्ब ३९ करोड (१.४ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.८ प्रतिशतले वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.२ प्रतिशत कर्जा पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यी अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेका थिए।

वित्तीय संस्थाहरूको प्रकारअनुसार वाणिज्य बैंकको कर्जा प्रवाह १.० प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ०.८ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको देखिन्छ।

२०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत र चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा १५.१ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अंश क्रमशः ६६.२ र १३.२ प्रतिशत रहेका थिए।

क्षेत्रगत हिसाबले निर्माण क्षेत्रमा लगानी २.६ प्रतिशत, औद्योगिक उत्पादनमा १.९ प्रतिशत, उपभोग्य क्षेत्रमा १.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १.० प्रतिशत, र थोक तथा खुद्रा व्यापार क्षेत्रमा १.० प्रतिशतले वृद्धि भएको छ। तर सेवा उद्योग क्षेत्रमा कर्जा प्रवाह ०.३ प्रतिशतले घटेको छ।

कर्जाको प्रकृतिअनुसार ट्रष्ट रिसिट (आयात) कर्जा ६.७ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.५ प्रतिशत, क्यास क्रेडिट १.७ प्रतिशत, आवधिक कर्जा १.१ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घरसहित) ०.८ प्रतिशत र हायर पर्चेज कर्जा ०.५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३.६ प्रतिशतले घटेको छ।

अन्तरबैंक कारोबारमा पनि वृद्धि भएको छ। चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकहरूको रु.१९८ अर्ब ९ करोड र अन्य वित्तीय संस्थाहरूको रु.३० अर्ब ६५ करोड गरी कुल रु.२२८ अर्ब ७४ करोडको अन्तरबैंक कारोबार भएको छ, जुन अघिल्लो वर्षको रु.१९३ अर्ब ७० करोडभन्दा उच्च हो।

ब्याजदरका हिसाबले ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २०८१ भदौको २.८९ प्रतिशतबाट घटेर २०८२ भदौमा २.१३ प्रतिशतमा पुगेको छ। अन्तरबैंक कारोबारको औसत ब्याजदर पनि सोही अवधिमा ३.०० प्रतिशतबाट घटेर २.७५ प्रतिशतमा झरेको छ।

२०८२ भदौमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७२ प्रतिशत, विकास बैंकहरूको ८.०९ प्रतिशत र वित्त कम्पनीहरूको ८.७७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी दर क्रमशः ७.४९ प्रतिशत, ९.१५ प्रतिशत र १०.६५ प्रतिशत रहेका थिए।

त्यसैगरी, निक्षेपको भारित औसत ब्याजदर वाणिज्य बैंकमा ३.९६ प्रतिशत, विकास बैंकमा ४.५८ प्रतिशत र वित्त कम्पनीमा ५.७३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी दर क्रमशः ५.५३, ६.३१ र ७.५५ प्रतिशत थिए। कर्जाको औसत ब्याजदर पनि घट्दै गएका छन् । वाणिज्य बैंकमा ७.६६ प्रतिशत, विकास बैंकमा ८.९५ प्रतिशत र वित्त कम्पनीमा १०.१९ प्रतिशत पुगेका छन्, जुन अघिल्लो वर्षभन्दा क्रमशः झण्डै दुई प्रतिशत अंकले कम हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij