२०८३ साउन १० आइतबार

कुन क्षेत्रको अवस्था कस्तो ?

ई आर्थिक    मंगलबार, असोज २८ २०८२
2.2K
Shares
कुन क्षेत्रको अवस्था कस्तो ?

ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्मको समष्टिगत आर्थिक सूचकाङ्कहरू मिश्रित भए पनि समग्रमा सकारात्मक संकेत देखिएका छन्। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्क (CPI) मा आधारित मुद्रास्फीति १.८७ प्रतिशतमा सीमित रहँदा, विदेशी विनिमय सञ्चिति, चालु खाता, र शोधनान्तरमा उल्लेखनीय वृद्धि देखिएको छ।

कुल विदेशी विनिमय सञ्चिति रु. २८८१ अर्ब ३५ करोड पुगेको छ, जुन अमेरिकी डलरमा २० अर्ब ४१ करोड हो। यो सञ्चिति हालको वस्तु तथा सेवा आयातको १६ महिना धान्न पर्याप्त देखिएको छ।

विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। नेपाली रूपैयाँमा ३३.१ प्रतिशत र अमेरिकी डलरमा २७.६ प्रतिशतले वृद्धि भई भदौ महिनामा मात्रै रु. १७४ अर्ब ६७ करोडको विप्रेषण भित्रिएको छ।

चालु खाता रु. १३० अर्ब ६९ करोड र शोधनान्तर स्थिति रु. १५३ अर्ब ६८ करोडले बचतमा रहँदा देशको बाह्य क्षेत्रीय सन्तुलन सुदृढ देखिएको छ।

वाणिज्य क्षेत्रमा निर्यात ८८.६ प्रतिशतले र आयात १६.२ प्रतिशतले वृद्धि भएको छ, जसले व्यापार घाटामा पनि सुधारको संकेत दिएको छ।

सरकारी वित्तीय व्यवस्थापनतर्फ, नेपाल सरकारको खर्च रु. १८० अर्ब १७ करोड पुगेको छ भने कुल राजस्व परिचालन रु. १५७ अर्ब ५३ करोडमा सीमित छ। यसमध्ये कर राजस्व रु. १५० अर्ब ४० करोड र गैरकर राजस्व रु. ७ अर्ब १३ करोड रहेको छ।

मुद्राप्रदाय ०.३ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक विन्दुगत आधारमा यसको वृद्धि दर १२.४ प्रतिशत पुगेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप ०.५ प्रतिशतले र निजी क्षेत्रलाई प्रवाह भएको कर्जा ०.९ प्रतिशतले वृद्धि भएको छ। वार्षिक रूपमा निक्षेप वृद्धिदर १२.५ प्रतिशत र कर्जा वृद्धिदर ७.८ प्रतिशत रहेको छ।

ब्याजदर पक्षमा, बैंकहरूबीचको अन्तरबैंक कारोबारको औसत ब्याजदर २.७५ प्रतिशत, ९१–दिनको ट्रेजरी बिलको ब्याजदर २.१३ प्रतिशत, वाणिज्य बैंकको निक्षेपमा औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जामा औसत ब्याजदर ७.६६ प्रतिशत कायम भएको छ।

समग्रमा हेर्दा, चालु आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा देशको मौद्रिक र वैदेशिक क्षेत्रीय स्थिति सन्तुलित देखिए पनि पूँजीगत खर्च र प्रत्यक्ष वैदेशिक लगानीको सुस्तताले दीर्घकालीन अर्थतन्त्रका लागि चुनौती भने कायम नै छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij