२०८३ साउन १२ मंगलबार

दुनाटपरीले फेरियो जीवन, घोराहीका महिलाको आम्दानीको स्रोत बन्यो परम्परागत सीप

ई आर्थिक    आइतबार, असोज २६ २०८२
4.4K
Shares
दुनाटपरीले फेरियो जीवन, घोराहीका महिलाको आम्दानीको स्रोत बन्यो परम्परागत सीप

दाङ ।  दाङको घोराही उपमहानगरपालिका–४ की ६३ वर्षीया राधा आचार्यका लागि दुनाटपरी गाँस्ने सीप अहिले सामान्य खर्च धान्ने भरपर्दो आम्दानीको स्रोत बनेको छ। करिब ६ वर्षअघि सालको पातबाट दुना र टपरी बनाउने कार्य सुरु गरेकी आचार्य अहिले मासिक ६–७ हजार रूपैयाँसम्म कमाइ गर्दै आएकी छन्।

सालको पात वनबाट टिपेर ल्याउने र त्यसलाई हातैले गाँस्ने काम उनको दैनिकी बनिसकेको छ। “पहिला पैसा नहुँदा अरुको भर पर्नुपर्थ्यो, तर अब आफैंले कमाउँदा औषधि किन्न, घरेलु खर्च गर्न माग्नुपर्दैन,” आचार्य भन्छिन्।

एक सय वटा टपरी ५ सय रूपैयाँमा गाउँघरमै बिक्री गर्ने गरेकी उनी, एक सय दुना १ सय २० रूपैयाँमा बजारमा बिक्री गर्दै आएकी छन्। उनका श्रीमान् पनि पात टिप्न वनमा साथ दिने गर्छन्।

“बुढो शरीरले गाह्रो काम गर्न सकिन्न, तर यो सीपले समय पनि कट्छ, पैसा पनि आउँछ,” उनले भनिन्। विशेषगरी चाडपर्व, धार्मिक र पारिवारिक कार्यहरूमा दुना–टपरीको माग बढ्ने भएकाले त्यतिबेला राम्रो आम्दानी हुने उनी बताउँछिन्।

त्यसैगरी, घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी (५१) र उनका श्रीमान् खुशीराम चौधरी (५७) ले पनि विसं २०६९ देखि दुनाटपरी उत्पादन गर्दै आएका छन्। घरायसी काम सकेपछि बचेको समयमा उनीहरू यही व्यवसायमा संलग्न छन्।

दुना–टपरी उत्पादनका लागि स्थापना गरिएको साहारा दुनाटपरी लघु उद्योगमा १० जना महिला दिदीबहिनीहरू नियमित रूपमा कार्यरत छन्। उद्योगकी अध्यक्ष शान्ति चौधरी भन्छिन्, “थोरै गाह्रो भने वनबाट पात ल्याउँदा हुन्छ, तर बजारमा बेच्न समस्या छैन।”

उनका अनुसार चौधरी दम्पतीको मासिक आम्दानी १५ हजार रूपैयाँसम्म पुगेको छ।

दुनाटपरी धार्मिक कार्यमा अत्यन्त उपयोगी मानिने सामग्री हो। विवाह, व्रतबन्ध, न्वारन, श्राद्धलगायतका कार्यहरूमा टपरीको प्रयोग अनिवार्य झैं हुने भएकाले यसको माग सधैं रहने व्यवसायीहरूको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij