ई-आर्थिक, काठमाडौं । देशभरका प्रमुख राजमार्गहरू प्रायः सबै मार्गहरू सञ्चालनमा छन्। तर केही खण्डहरूमा सवारी आवागमन सुस्त गतिमा भइरहेको छ।
काठमाडौं–मुग्लिङ तथा मुग्लिङ–पोखरा सडकखण्ड खुला भए पनि यातायात सुस्त गतिमा चलिरहेको छ। यस्तै, मुग्लिङ–नारायणघाट, नारायणघाट–बुटवल, र काठमाडौं–सिस्नेरी–हेटौडा खण्डहरू पूर्ण रूपमा सञ्चालनमा रहेको नेपाल प्रहरीले जनाएको छ ।
कोशी ब्यारेज, बागलुङ–पोखरा, बेनी–मुस्ताङ, र जोमसोम–कोरला नाका सडकहरू पनि खुला रहेका छन्।
तराईका अधिकांश पूर्व–पश्चिम राजमार्गहरू जस्तै हेटौडा–वीरगञ्ज, पथलैया–बर्दिवास, बर्दिवास–इटहरी, इटहरी–काकरभिट्टा खण्डहरूमा पनि सवारी आवागमन नियमित रूपमा चलिरहेको छ।
त्यस्तै, बुटवल–नेपालगञ्ज, नेपालगञ्ज–सुर्खेत, र कोहलपुर–धनगढी खण्डहरू समेत सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ।
यातायात व्यवस्था विभागले चालकहरूलाई पहाडी क्षेत्रका खण्डहरूमा विशेष सावधानीपूर्वक यात्रा गर्न सुझाव दिएको छ।