बनस्थली, नागार्जुन र कीर्तिपुर पुगेर शोकसन्तप्त परिवारलाई समवेदना व्यक्त
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारजनसँग भेट गरेकी छिन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनलाई व्यक्तिगत रूपमा भेटेर समवेदना प्रकट गरेकी हुन् ।
प्रधानमन्त्री कार्की मृतक परिवारलाई उनीहरूकै घर पुगेर भेटेकी छिन् । यस क्रममा उनी बनस्थलीस्थित काठमाडौं महानगरपालिका–१६ मा सौरनकिशोर श्रेष्ठको परिवार, नागार्जुन नगरपालिका–३ मा कान्छी नगरकोटीको परिवार र कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा बुद्धिबहादुर तामाङको परिवार मा पुगेको सचिवालयले जनाएको छ।
सरकारको नेतृत्व सम्हालेदेखि प्रधानमन्त्री कार्कीले नागरिकका पीडा सुन्ने र दुःखमा साथ दिने दृष्टिकोणलाई प्राथमिकतामा राख्दै आएकी छिन्। जेन–जी आन्दोलनका क्रममा मृतकका परिवारजन अझै पनि आघातमा छन्। प्रधानमन्त्रीको यो भेटले उनीहरूलाई केही मनोबल र साथ मिल्ने विश्वास गरिएको छ।
यसअघि प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा घाइते भएका केही व्यक्तिहरूको अवस्थाबारे जानकारी लिई उपचार तथा राहतका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।