ई-आर्थिक, काठमाडौं । आज नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन विजयादशमी, देशभर टीका र जमरा लगाएर मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११:५३ बजे तोकिएको छ।
टीका लगाउँदा लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने परम्परा छ। घटस्थापनाका दिन राखिएको जमरासहित नवदुर्गाको प्रसादको रूपमा टीका थापी बडाबुबा, आमा-बुबा, गुरुजन र मान्यजनबाट आशीर्वाद लिने चलन छ।
बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार, टीका लगाउनु अघि दुर्गा विसर्जन गर्नुपर्ने धार्मिक मान्यता छ।
आज टीका नलगाउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका थाप्न सक्नेछन्। दशैं महालक्ष्मीको पूजा गरिने पूर्णिमाका दिन समापन हुन्छ।