ई–आर्थिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विद्युत विकास विभागको नेतृत्वमा परिवर्तन गर्दै मनदेवी श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गरेका छन्। मन्त्रीस्तरीय निर्णयमार्फत हालका महानिर्देशक जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।
विभागमै उपमहानिर्देशक पदमा कार्यरत मनदेवी विभागकै वरिष्ठ इन्जिनियर हुन् । स्रोतका अनुसार, निर्णय वरिष्ठता र महिला सहभागिता प्रोत्साहनको आधारमा गरिएको हो।
“मनदेवी श्रेष्ठ वरिष्ठतामा अगाडि हुनुहुन्थ्यो। त्यसमाथि महिला भएकाले प्राथमिकताको आधारमा नेतृत्व उहाँलाई दिइएको हो,” ऊर्जा मन्त्रालय स्रोतले जानकारी दियो ।
जलविद्युत इन्जिनियरको हैसियतमा नेतृत्वमा पुग्ने मनदेवी पहिलो महिला
इन्जिनियरिङ पृष्ठभूमिबाट आउने मनदेवी जलविद्युत परियोजना व्यवस्थापनमा दशकौंको अनुभव बोकेकी छन्। उनी विभागको इतिहासमै महानिर्देशक बन्ने प्रथम महिला हुन्, जुन कदमलाई ऊर्जा क्षेत्रमै महिला सशक्तीकरणको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
शून्य अंक प्रकरणका जीवछ मण्डलको सरुवा
नयाँ नियुक्तिसँगै, हालसम्म विभागको नेतृत्व गरिरहेका जीवछ मण्डलको जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ। मण्डलले अघिल्लो कार्यकालमा कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा ‘शून्य अंक’ दिएका थिए, जसका कारण घिसिङ नेपाल विद्युत प्राधिकरण को कार्यकारी निर्देशक पदबाट हट्नुपरेको थियो।
उक्त मूल्याङ्कनलाई गैरपेशागत र पूर्वाग्रही भन्दै आलोचना गरिएको थियो। धेरैले यो कदमलाई राजनीतिक प्रतिशोधको दृष्टिले हेरेका थिए ।