अरनिको राजभण्डारी
अध्यक्ष, नेपाल आइक्रिम उद्योग संघ
अहिले हाम्रा उपभोक्ताहरु त्यति सचेत भएका छ्रैनन् । आइसक्रिम भनेको दुधबाट मात्र बन्दछ । तर यहाँ कोकोनट आयल र पाम आयलबाट बन्ने फ्रोजन डेजर्टलाई पनि आइसक्रिम नै भनेर बेच्ने गरेको पाइन्छ । अब हामीले संघमार्फत उपाभोक्ता सचेतना कार्याक्रम संचालन गर्दैछौं । यसका लागि हामीले यस्तो चिजले बनेकालाई आइसक्रिम भनिन्छ र यस्तो चिजले बनेकोलाई फ्रोजन डेजर्ट भनिन्छ भनेर लेखिएका व्यानरहरु आइसक्रिम बेच्ने पसलहरुमा राख्ने र यस्तै किसिमका सूचनाहरु विभिन्न संचारमाध्यमहरुबाट प्रकाशन तथा प्रसारण गर्ने योजना बनाएका छौं ।
नेपाली आइसक्रिम कत्तिको गुणस्तरीय छन् ?
नेपाली आइसक्रिमको गुणस्तरको कुरा गर्दा तुलनात्मक रुपमा सार्क मुलुकमै हामी राम्रो छौं । अमुल जस्तै भारतका नाम चलेका ठूला ठूला फ्याक्ट्रीहरुले जुन मेशिन प्रयोग गरिरहेका छन् । हामीले त्यही मेशिनबाट उत्पादन गरिरहेका छौं । उनीहरुले जुन कच्चा पदार्थ प्रयोग गरिरहेका छन्, हामीले त्यही कच्चा पदार्थ प्रयोग गरिरहेका हुन्छौं । हाम्रो र अन्य देशले प्रयोग गर्ने प्रविधि पनि उस्तै छ । फरक यति मात्र हो कि भारतमा कच्चा पदार्थ सस्तामा पाउँछ र उनीहरुको ‘कस्ट अफ प्रोडक्सन’ सस्तो हुन्छ । हामी दुधमा त आत्मनिर्भर भयौं । तर आइसक्रिम दुध र चिनीले मात्र बन्दैन । हामीले प्रयोग गर्ने धेरै जसो कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने हुन्छ । यसरी कच्चा पदार्थ आयात गर्दा महंगो भंसार तिर्नुपर्ने हुन्छ । र, हाम्रो ‘कस्ट अफ प्रोडक्सन’ महंगो हुन्छ । त्यसैले हाम्रो उत्पादनको मुल्य चाँही केही महंगो हुनजान्छ । हामी गुणस्तरमा कुनै पनि देश भन्दा कमी छैनौं । सरकारले भंंसार दर सच्यायो भने मूल्यमा पनि हामी प्रतिस्पर्धी बन्न सक्छौं ।
भंसार दर कति बनायो भने तपाईहरु मूल्यमा प्रतिस्पर्धी बन्न सक्नुहुन्छ ?
भंसार दर यति बनाउने उति बनाउने भन्दा पनि कच्चा पदार्थ आयात गर्दा लाग्ने र तयारी वस्तु आयात गर्दा लाग्ने भंसार दर समान हुनुपर्छ । अहिले हामीले कच्चा पदार्थ आयात गर्दा ४० देखि ६० प्रतिशतसम्म भंसार तिर्नुपर्छ भने तयारी आइसक्रिमले भने ९ देखि १० प्रतिशत भंसार तिरे पुग्छ । भन्सार नै यति महंगा तिरेपछि हामीले कसरी भारतीय आइसक्रिमसँग प्रतिस्पर्धा गर्न सक्छौं ? यो सिधै नेपाली व्यवसायीहरुलाई धरासायी बनाउने खेल जस्तो लाग्छ । हामीलाई त तिमीहरु उद्योग नगर, भारतीय सामानहरु मात्र बेच भन्ने आभाष भइरहेको छ । नेपाली उद्योगी व्यवसायीहरुलाई मार्ने यस्तो असमान नीति सरकारले तुरुन्त सच्याउनु पर्छ ।
तपाईहरुले सरकारलाई यस विषयमा केही भन्नुभएको छैन ?
किन नभन्नु ? नभन्ने त कुरै आउँदैन । हामीले नेपाल आइसक्रिम इण्डष्ट्रिज विजनेस एसोसियनमार्फत बारम्बार सरकारलाई हाम्रा समस्याहरुको बारेमा अवगत गराइरहेका हुन्छौं । तर सरकार तेल हालेर बसेको छ । साफ्टालाई देखाएर पन्छिने काम मात्र गर्छ । नेपाली व्यवसायीको समस्याबाट सरकार पन्छिन मिल्दैन । साफ्टाले नेपाली उद्योगी व्यवसायीलाई अप्ठ्यारो पारेको छ भने सरकारले यसलाई सच्याउन भारतसँग पहल कदमी गर्नुपर्छ । अनेकका बहाना गरेर सरकार यसबाट पन्छिन मिल्दैन ।
साफ्टामा त नेपाली उद्योगी व्यवसायीलाई कच्चा पदार्थ आयात गर्दा सहुलियत दिनुपर्ने हो र ‘फाइनल प्रोडक्ट’ आयात गर्दा बढी भंसार लिनुपर्ने हो । तर यहाँ त ठीक उल्टो भएको छ । हामीले कच्चा पदार्थ आयात गर्दा बढी भंसार तिर्नुपर्छ भने ‘फाइनल प्रोडक्ट’ आयात गर्दा कम भंसार तिर्नुपर्छ । यो असमान नीति सरकारले तुरुन्त सच्याउनुपर्छ ।
नेपाली उद्योगी व्यवसायीलाई धरासायी बनाउने यस्तो असमान साफ्टामा हस्ताक्षर गर्नुभन्दा पहिला सरकारले तपाइहरुसँग सरसल्लाह गरेन ?
त्यस्तो केही सरसल्लाह गरेजस्तो त हामीलाई लाग्दैन । त्यो समयमा उतैबाट बढी सामान आयात हुन्थ्यो होला र सरकारले हस्ताक्षर गरेको हो कि भन्ने लाग्छ । यदि त्यसो हो भने अहिले नेपालमा उताबाट आयात गरिने सामान जस्तै सामान उत्पादन गर्ने उद्योगहरु यहाँ धेरै स्थापना भइसकेका छन् । त्यसैले अब यो व्यवस्था परिमार्जन गर्नुपर्छ जस्तो लाग्छ । अर्को भनेको भारतको दबाबमा साफ्टामा हस्ताक्षर गरेको हो कि भन्ने शंका गर्ने ठाउँ पनि छ । यदि कसैको दबाबमा यस्तो गरेको हो भने यसलाई तुरुन्त खारेज गरेर नयाँ नियम लागू गर्नुपर्छ । नेपाल एक सर्वभौम देश हो । कसैको दबाब र प्रलोभनमा पर्नु हुँदैन । आफ्नो देशका उद्योगी व्यवसायीको हितमा नीति नियम बनाउनुपर्छ । र, यस्तै प्रकारका व्यापार नीतिहरुमा सन्धी सम्भौता गर्नुपर्दा यहाँका उद्योगी व्यवसायीहरुसँग पनि सरसल्लाह गर्नुपर्छ ।

तपाईहरु आफू चाँही केही नगर्ने । अनि यसो गरेन उसो गरेन भनेर दोष जति सरकारलाई थोपर्ने मात्र गर्नुहुन्छ भन्ने आरोप लाग्ने गरेको छ नि ? के भन्नुहुन्छ ?
हामीले त लगानी फसाएका हुन्छौं । आफ्नो लगानी सुरक्षाको लागि हामी जे पनि गर्न ( अवैध कारोबार बाहेक) गर्न तयार हुन्छौं । नीति नियम बनाउने भनेको सरकारले हो । सरकारले बनाएको नीति नियममा टेकेर हामीले व्यवसाय गर्ने हो । उद्योगी व्यवसायी भनेको देशको अर्थतन्त्रको ‘अक्सिन’ नै हो । हामीबाट उठाएको करले नै देश चलेको हुन्छ । सरकारले जहिल्यै पनि उद्योगीमैत्री नीति नियम बनाउनुपर्छ । यदि उद्योगमैत्री नीति नियम छैन भने त्यसलाई सरकारले तुरुन्त सच्याउनुपर्छ । र, उद्योग गर्ने वातावरण बनाउनुपर्छ । यहाँ त उद्योगीलाई निरुत्साहित गर्ने र विदेशबाट सामान आयात गरेर बेच्नेलाई प्रोत्साहिन गर्ने नीति छ । यो राम्रो होइन । यसलाई तुरुन्त सच्याउनुपर्छ ।
तपाईहरुले त बदमासी गरिरहनुभएको रहेछ नि । ‘फ्रोजन डेजर्ट’लाई पनि आइसक्रिम भनेर बेचिरहेको पाइन्छ नि ?
विशुद्ध दुधको परिकारबाट बन्नेलाई हामी आइसक्रिम भन्छौं । उपभोक्ता सचेत नभएका कारणले कोकोटन आयल र पाम आयलबाट बनेका फ्रोजन डेजर्टलाई पनि आइसक्रिम भनेर बेचिरहेको पाइन्छ । यस्तो कार्य गर्नेलाई संघले पनि कार्बाही गर्दै आएको छ । सबैभन्दा महत्वपूर्ण भनेको उपभोक्ता सचेत हुनुपर्छ । यसका लागि हामीले संघमार्फत उपभोक्ता सचेतना कार्यक्रमलाई एउटा अभियानकै रुपमा अगाडि बढाउने भन्ने कुरामा छलफल पनि भइरहेको छ । हामी चाँडै नै उपभोक्ता सचेतना कार्यक्रम पनि ल्याउँछौं ।
विदेशमा फ्रोजन डेजर्ट र आइसक्रिमको बेग्ला बेग्लै कानुन छ । फ्रोजन डेजर्टलाई आइसक्रिम भनेर बेच्नै पाइदैन । फ्रोजन डेजर्ट नै भनेर बेच्नुपर्ने हुन्छ । तर नेपालमा बेग्ला बेग्लै कानुन छैन । यसले गर्दा पनि फ्रोजन डेजर्टलाई आइसक्रिम भनेर बेचिरहेको पाइन्छ । सरकारले फ्रोजन डेजर्ट र आइसक्रिमका लागि बेग्ला बेग्लै नीति बनाउनुपर्ने हुन्छ । हामीले पनि सरकारलाई हाम्रो संघमार्फत बेग्ला बेग्लै नीति बनाउन सुझाव दिइरहेका छौं ।
उपभोक्तालाई सचेत बनाउन के कस्ता कार्यक्रमहरु ल्याउनु हुदैछ ?
यस विषयमा संघमा हामीले छलफल गरिरहेका छौं । ‘यस्तो चिजले बनेकालाई आइसक्रिम भनिन्छ र यस्तो चिजले बनेकोलाई फ्रोजन डेजर्ट भनिन्छ भनेर जनचेतना जगाउने काम गर्छौ । यसका लागि आइसक्रिम बेच्ने पसलहरुमा आइसक्रिम भनेको दुधजन्य पदार्थबाट मात्र बन्दछ र फ्रोजन डेजट भनेको कोकोनट आयल र पाम आयलबाट बन्दछ । तपाईहरुले किन्दा केले बनेको हो सोधेर मात्र किन्नुहोस’ जस्ता लेखिएको व्यानरहरु राख्ने कार्य गर्दछौं । यस्तै किसिमका सूचनाहरु विभिन्न संचारमाध्यमहरुबाट प्रकाशन तथा प्रसारण गर्ने योजना पनि बनाएका छौं ।
आइसक्रिम व्यवसायको भविष्य कस्तो देख्नुहुन्छ ?
यस व्यवसायको भविष्य राम्रो नै छ । विस्तारै नेपालीहरुमा खासगरी युवा पुस्तामा आइसक्रिम खाने बानीको विकास भइहरेको छ । हरेक पार्टीहरुमा अथवा कुनै ‘फङ्सन’ गर्दा आइसक्रिमलाई पनि रेसिपीमा राख्ने चलन बढिरहेको छ । विस्तारै आइसक्रिमप्रतिको लोकप्रियता बढिरहेको छ । यो हामी जस्ता व्यवसायीका लागि खुशीको कुरा हो । तर असमान भंसार दरका कारण हामीले भन्दा भारतीय आइसक्रिमहरुले बर्चस्व जमाइरहेका छन् । यदि सरकारले यो असमान भंसार नीतिलाई सच्याइदिने हो भने नेपाली आइसक्रिम व्यवसायीको भविष्य राम्रो छ । यदि सरकारले कच्चा पदार्थ आयात गर्दा लाग्ने भंसार र तयारी वस्तु आयात गर्दा लाग्ने भंसार दर बराबर गरिदिने हो भने हामी आइसक्रिममा आत्मनिर्भर हुनेछौं ।
नेपाली आइसक्रिमको बजार कत्रो छ ?
अहिले नेपाली बजारमा दैनिक २५ देखि ३० हजार लिटर जतिको छ । रकममा भन्दा दैनिक एक करोड २० लाख रुपैयाँ जतिको आइसक्रिमको बिक्री वितरण हुन्छ । यसमा नेपाली आइसक्रिमले ५० प्रतिशतजति बजार हिस्सा ओगटेको छ । नेपाल सरकारले नीतिलाई सच्याउने हो भने हामीले शतप्रतिशत बजार लिनसक्छौं । यो क्षेत्रले अहिले २० लाख भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

एनडीस आइसक्रिमको बारेमा बताइदिनोस् न ?
हाम्रो मुख्य व्यवसाय भनेको डेरी व्यवसाय हो । नेपालमा पहिला निरुलाज् र क्यालिटी आइसक्रिम उत्पादन हुन्थ्यो । यी दुवै कम्पनी बन्द भएपछि यहाँको बजारमा आइसक्रिम नै थिएन । यही ‘भ्याकुम’लाई ‘फुलफिल’ गर्न हामीले आइसक्रिम क्षेत्रमा पनि हात हालेका हौं । त्यो समयमा आइसक्रिमको ‘डिमाण्ड फुलफिल’ गर्न २४ सै घण्ड फ्याक्सट्री चलाउनुपथ्र्यो । अहिले हामीले दैनिक पाँच हजार लिटर आइसक्रिम उत्पादन गरिरहेका छौं । अहिले हामीले ३०–३२ प्रकारका आइसक्रिमहरु उत्पादन गरिरहेका छौं । त्यस्तै फ्लेवर भएर फलफूलकै जुसबाट पनि आइसक्रिम उत्पादन गरिरहका छौं । यसका लागि फलफूलहरु पाएसम्म नेपालकै प्रयोग गर्छौ । यहाँ नपाएको खण्डमा भारतको विभिन्न ठाउँमा आयात गरेर ल्याउँछौं । नेपालमा यसरी फलफूलको जुसबाट आइसक्रिम उत्पादन गर्ने हामी मात्रै छौं ।