२०८३ साउन १२ मंगलबार

सौराहाका होटलहरूमा पर्यटकको बुकिङ धमाधम रद्द, व्यवसायी चिन्तित

ई आर्थिक    बिहिबार, असोज २ २०८२
2K
Shares
सौराहाका होटलहरूमा पर्यटकको बुकिङ धमाधम रद्द, व्यवसायी चिन्तित

ई-आर्थिक, चितवन ।  चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहाका होटलहरूमा पर्यटकले धमाधम बुकिङ रद्द गर्न थालेका छन्। भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि अन्तर्राष्ट्रिय जगतमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएपछि यस्तो अवस्था आएको होटल व्यवसायीहरू बताउँछन्।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डेका अनुसार सेप्टेम्बर महिनाका लागि भएका सबै बुकिङ रद्द भइसकेका छन्। “अहिले एक-दुई वटा कोठामा मात्र पर्यटक छन्,” उनले भने, “यस महिनामा ६५ देखि ७० प्रतिशत कोठाहरू बुक भइसकेका थिए, तर अहिले ती सबै रद्द भएका छन्।”

पाण्डेले आगामी महिनाहरूका लागि गरिएको बुकिङसमेत रद्द हुने क्रम जारी रहेको जानकारी दिए।

क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराईले आन्दोलनपछिको असहज अवस्थाले अन्तर्राष्ट्रिय भ्रमणकर्तामाझ नकारात्मक सन्देश पुर्‍याएको बताए। उनका अनुसार ट्राभल एजेन्सीहरू मार्फत पर्यटकले सौराहा सुरक्षित छैन भन्ने बुझाइ बनाएपछि दैनिक झन्डै एक सय इमेल र सन्देशहरू पठाउँदै बुकिङ रद्द गरिरहेका छन्।

“देशभर आन्दोलन भइरहँदा पनि सौराहामा पर्यटक राम्रै संख्यामा थिए,” भट्टराईले भने, “तर ती पर्यटक फर्किएपछि नयाँ पर्यटक आउन छाडेका छन्।”

हाल सौराहाका होटलहरूमा कुल क्षमताको पाँच प्रतिशत पनि पर्यटक नरहेको उनीहरूको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मानिने सौराहा जंगल सफारीका लागि विश्वभर चिनिएको क्षेत्र हो। पर्यटकहरू मुख्यतया हात्ती सफारी, जिप सफारी, बोटिङ, चराचुरुंगी अवलोकन, थारु संस्कृति अनुभव र वन्यजन्तु अवलोकनका लागि यहाँ आउने गर्छन्। तर पछिल्लो घट्नाक्रमले यस क्षेत्रको पर्यटन व्यवसाय धराशायी बन्ने खतरा देखिएको छ।

होटल व्यवसायीहरूले सरकारले पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा चासो देखाएर अविलम्ब प्रभावकारी कदम चाल्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij