ई-आर्थिक, काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि थप ९० अर्ब रुपैयाँ खिच्ने भएको छ।
राष्ट्र बैंकले १० दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट तरलता प्रशोचन गर्न लागेको हो। केन्द्रीय बैंकका अनुसार आज (बुधबार) मध्यान्ह ३ बजे अनलाइन बोलकबोल प्रणालीमार्फत उक्त रकम संकलन गरिनेछ।
चालु आर्थिक वर्षको २ महिनाको अवधिमा राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि वित्तीय प्रणालीबाट ४ खर्ब ७४ अर्ब ३५ करोड तरलता प्रशोचन गरिसकेको छ । यो अवधि भित्र राष्ट्र बैंकले साउन ४ देखि भदौ २२ सम्म १३ पटक गरी विभिन्न म्यादका निक्षेप संकलनमार्फत तरलता संकलन गरिसकेको हो।
यसपटकको निक्षेप संकलन उपकरण १० दिनको हुनेछ, जसको साँवा तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी गरिनेछ। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम कुल आह्वान रकमको ५ प्रतिशतका आधारमा बोलकबोल गर्न पाउनेछन्। बोलकबोल प्रणाली बहुब्याजदरमा हुनेछ भने यसको ब्याजदर बोलकबोलकै आधारमा निर्धारण हुनेछ।
राष्ट्र बैंकका अनुसार, ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यो उपकरणमा सहभागी हुन पाउनेछन्। त्यस्तै, यस उपकरणमा लगानी गरेको रकमलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ।
बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा प्रवाहको गति सुस्त हुँदा तरलता बढेको र सोही अनुसार राष्ट्र बैंकले प्रशोचन प्रक्रिया तीव्र बनाएको बैंकरहरूले बताउँदै आएका छन्। चालु आर्थिक वर्षको सुरुवातदेखि नै राष्ट्र बैंकले तरलता व्यवस्थापनलाई प्राथमिकतामा राख्दै निरन्तर तरलता खिचिरहेको छ।
केन्द्रीय बैंककले बजारबाट भदौ २२ गते २५ अर्ब भदौ १८ गते ५० अर्ब भदौ १५ गते ५५ अर्ब, भदौ ११ गते ४५ अर्ब, भदौ ४ गते ३० अर्ब भदौ १ गते ६० अर्ब, साउन २८ गते २५ अर्ब साउन २१ गते ४० अर्ब, साउन १८ गते ५० अर्ब, साउन १४ गते २५ अर्ब, साउन ११ गते ५० अर्ब तथा साउन ७ गते ८० अर्ब खिचेको थियो । साथै साउन ४ गते ५० अर्ब तानेको थियो ।
उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा विस्तार कम हुँदा अधिक तरलता देखिदै आएको बैंकरहरु बताउछन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको केन्द्रीय बैंकले जनाएको छ ।