ई- आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले देशभर चलेको पछिल्लो आन्दोलनका क्रममा बैंक तथा वित्तीय संस्थामा केही तोडफोड भए पनि ठूलो वित्तीय क्षति नभएको स्पष्ट पारेका छन्।
सुशान्त प्रधानसँगको पोडकास्ट अन्तर्वार्तामा गभर्नर पौडेलले प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वरस्थित शाखाबाट ५ करोड १५ लाख रुपैयाँ र करिब १८ किलो सुन लुटिएको जानकारी दिएका हुन्।
उनका अनुसार भदौ २४ गते संसद् भवन परिसरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले संसद् भवनसँगै रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा आक्रमण गरेका थिए।
उक्त शाखाबाट १७ हजार ९ सय ४५ ग्राम करिव १८ किलो सुन र नगद रकम चोरी भएको बैंकले स्वीकार गरेको छन्।
राष्ट्र बैंकका तथ्याङ्क अनुसार देशभर रहेका ६८ वटा बैंक शाखा तथा एक्सटेन्सन काउन्टरमा तोडफोड र आगजनी भएको छ। तीमध्ये २५ वटा शाखा कार्यालय र ४३ वटा एक्सटेन्सन काउन्टर रहेको जनाइएको छ।
यस्तै, ६९ वटा एटीएम मेसिनसमेत तोडफोडमा परेको राष्ट्र बैंकको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। गभर्नर पौडेलले अझै पनि क्षतिको विस्तृत विवरण संकलन भइरहेको जानकारी दिएका छन्।
राष्ट्र बैंकले प्रदर्शनका कारण उत्पन्न वित्तीय क्षतिको मूल्यांकन गरी आवश्यक नीतिगत निर्णय लिने तयारी गरिरहेको जनाएको छ।