ई-आर्थिक, काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि प्रकाशित गरेका ब्याजदर विवरणअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा दिइने औसत ब्याजदर घटेको छ। भदौ महिनामा ५.५७७ प्रतिशत रहेको औसत ब्याजदर घटेर असोजमा ५.४६३५ प्रतिशतमा झरेको हो।
समीक्षा अवधिमा ब्याजदर ०.११३२ प्रतिशत विन्दुले घटेको हो। कुल २० वाणिज्य बैंकमध्ये ९ बैंकले ब्याजदर घटाएपछि औसत ब्याजदरमा गिरावट आएको हो। प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएका छन्। यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशत विन्दुले तथा कुमारी बैंकले ०.२ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।
अर्कोतर्फ, लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत विन्दुले र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन्। बाँकी ९ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
व्यक्तिगत मुद्दति निक्षेपमा असोज महिनामा सबैभन्दा कम ब्याज दिने बैंक कुमारी बैंक रहेको छ, जसले अधिकतममा ५.०१ प्रतिशत ब्याज दिनेछ। अधिकतम ६ प्रतिशत ब्याजदर कायम राख्ने बैंकहरूमा एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंक रहेका छन्।
संस्थापक मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि ०.०८८५ प्रतिशत विन्दुले घटेको छ। ७ वाणिज्य बैंकले ब्याजदर घटाउँदा यस्तो परिवर्तन देखिएको हो भने बाँकी १३ बैंकले भदौ महिनाकै दरलाई यथावत् राखेका छन्।
बैंकहरूले ब्याजदर घटाउने वा स्थिर राख्ने निर्णय हालको कर्जा लगानीको अवस्था हेरेर गरेका हुन्। अहिले बैंकहरूमा ७२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप भए पनि कर्जा लगानी ५६ खर्ब २१ अर्बमै सीमित छ। यसले बैंकहरूले नयाँ कर्जा प्रवाहमा कठिनाइ भोगिरहेका संकेत गर्छ।
पछिल्लो समयको जेनजी आन्दोलनले पर्यटन व्यवसायलाई ठूलो असर पारेको छ। तर, सरकारी संरचना ध्वस्त भएपछि ती संरचना पुनर्निर्माणका लागि रड, सिमेन्ट जस्ता सामग्रीमा खर्च बढेको छ। यसले बजारमा केही मात्रामा पैसा परिसंचालन गरे पनि निजी संरचनामा खासै प्रभाव परेको छैन। यस कारणले गर्दा बैंकहरूको समग्र अवस्था अहिले सुरक्षित देखिएको छ।