ई-आर्थिक, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूको समग्र निक्षेप र कर्जा प्रवाहमा संकुचन देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, २०८२ साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप रु. ५५ अर्ब ७९ करोड (०.८ प्रतिशत) ले घटेर रु. ७२०८ अर्ब ९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पनि निक्षेप ०.७ प्रतिशत ले घटेको थियो।
यद्यपि वार्षिक विन्दुगत आधारमा हेर्दा भने कुल निक्षेपमा १२.५ प्रतिशतको वृद्धि देखिएको छ। साउन मसान्तसम्मको कुल निक्षेपमा मुद्दती निक्षेपको अंश ४८.४ प्रतिशत, बचत निक्षेपको अंश ३७.५ प्रतिशत, र चल्ती निक्षेपको अंश ५.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी क्रमशः ५७.५, ३०.३ र ५.० प्रतिशत थिए, जसले मुद्रास्फीति र ब्याजदरको प्रभावले मुद्दती निक्षेपमा गिरावट आएको संकेत गर्छ।
साथै, कुल निक्षेपमा संस्थागत निक्षेपको अंश साउन मसान्तमा ३५.१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३५.९ प्रतिशतको तुलनामा केही घटेको हो।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह पनि घटेको देखिन्छ। साउन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा रु. २ अर्ब ९३ करोड (०.१ प्रतिशत) ले घटेर रु. ५४९५ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो कर्जा रु. १४ अर्ब ११ करोड (०.३ प्रतिशत) ले वृद्धि भएको थियो। यद्यपि वार्षिक विन्दुगत आधारमा हेर्दा कर्जा प्रवाह ८.० प्रतिशतले वृद्धि भएको देखिन्छ।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको संरचना हेर्दा गैर–वित्तीय संस्थातर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षमा यो अनुपात क्रमशः ६३.४ र ३६.६ प्रतिशत थियो।
धितो सुरक्षणको दृष्टिले कर्जाको ठूलो हिस्सा अझै पनि घरजग्गा धितोमा केन्द्रित छ। २०८२ साउन मसान्तसम्मको कर्जामध्ये ६४.४ प्रतिशत घरजग्गा धितोमा र १४.८ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तुहरू) मा सुरक्षित गरिएको छ।
लगानी प्रवाहको क्षेत्रगत विश्लेषण गर्दा, औद्योगिक उत्पादनमा ०.८ प्रतिशत, निर्माण क्षेत्रमा ०.६ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ०.५ प्रतिशत कर्जा वृद्धि भएको छ। यता, थोक तथा खुद्रा व्यापार क्षेत्रमा ०.५ प्रतिशत, सेवा उद्योग क्षेत्रमा १.५ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.०४ प्रतिशत कर्जा घटेको देखिन्छ।
कर्जाको प्रकृति अनुसार हेर्दा, आवधिक कर्जा ०.२ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १.१ प्रतिशत, रियल स्टेट कर्जा ०.३ प्रतिशत र मार्जिन कर्जा २.७ प्रतिशतले वृद्धि भएको छ। तर, हायर पर्चेज कर्जा ०.१ प्रतिशत, नगद प्रवाह कर्जा ०.९ प्रतिशत र अधिविकर्ष कर्जा ३.२ प्रतिशतले घटेको छ।
यसरी बैंकिङ क्षेत्रको प्रारम्भिक गतिविधिहरूले माग पक्षको चाप, लगानी प्रवृत्तिमा संकोच र मौद्रिक नीतिको प्रभाव परिलक्षित भएको देखिन्छ। विश्लेषकहरूका अनुसार कर्जा प्रवाह र निक्षेपमा देखिएको संकुचन सँगै ब्याजदर, लगानी वातावरण र आयात-निर्यातको प्रवृत्तिले आगामी महिनामा थप प्रभाव पार्न सक्ने सम्भावना रहेको छ।