ई-आर्थिक, काठमाडौं । देशभर आन्दोलनका कारण अस्तव्यस्त बनेको जनजीवन नयाँ अन्तरिम सरकार गठनसँगै क्रमशः सामान्य बन्दै गएको छ। पछिल्ला केही दिनयता जारी निषेधाज्ञा र कर्फ्यु हटाइँदै जाँदा नागरिक जीवन फेरि सुचारु हुँदै गएको हो।
विभिन्न क्षेत्रमा पुनः सार्वजनिक यातायात सञ्चालनमा आउन थालेको छ भने बजार, कार्यालय र शैक्षिक संस्थाहरू पनि खोलिन थालेका छन्। स्थगित गतिविधिहरू पुनः सञ्चालनमा आउँदा युवापुस्तासहित आम नागरिकमा उत्साह र आशा देखिएको छ।
सरकारी अधिकारीहरूले मुलुकभर शान्ति सुरक्षा अवस्थासमेत सामान्य रहेको जनाएका छन्।
भ्रष्टाचारविरुद्धको आवाज, सुशासनको अपेक्षा
देशव्यापी आन्दोलनपछि गठन गरिएको नयाँ अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गरेकी छन्। भ्रष्टाचारविरुद्धको आवाज र सुशासन प्रवर्द्धनको मागलाई सम्बोधन गर्ने उद्देश्यसहित कार्की नेतृत्वको सरकार गठन गरिएको हो।
सरकारले जनचाहना अनुरूप शान्ति, सुव्यवस्था र कानुनी शासनको अनुभूति दिलाउँदै तोकिएको समयसीमाभित्र स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
अन्तरिम सरकारको पहिलो प्राथमिकता स्थायीत्व, विश्वास पुनःस्थापना र समावेशी राजनीतिक संवाद हुने जनाइएको छ। अबको मार्गचित्र निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने रहेको छ।