२०८३ साउन ११ सोमबार

राजतन्त्रको षड्यन्त्र अस्वीकार्य, संविधानमै समाधान खोज्न बृहत नागरिक आन्दोलनको आह्वान

ई आर्थिक    बिहिबार, भाद्र २६ २०८२
3.8K
Shares
राजतन्त्रको षड्यन्त्र अस्वीकार्य, संविधानमै समाधान खोज्न बृहत नागरिक आन्दोलनको आह्वान

 ई-आर्थिक, काठमाडौं ।  बृहत नागरिक आन्दोलनले हाल देशमा देखिएको राजनीतिक उतारचढावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एक वक्तव्यमार्फत सेनाको भूमिकालाई कडा शब्दमा आलोचना गरेको छ। आन्दोलनले गणतन्त्र, धर्मनिरपेक्षता र संवैधानिक प्रगतिका विरुद्ध भइरहेको कथित ‘प्रतिक्रान्ति’ लाई परास्त गर्न सम्पूर्ण नागरिकलाई ऐक्यबद्ध हुन आह्वान गरेको छ।

वक्तव्यमा भनिएको छ, “जेनजी आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र मञ्चन हुँदैछ, जुन हामीलाई पटक्कै स्वीकार्य छैन।”

आन्दोलनले हाल सैनिक मुख्यालयमा केही तत्वहरू सेनाको आतिथ्यमा वार्ता गरिरहेको जनाउँदै त्यसलाई “असाध्यै डरलाग्दो र अस्वीकार्य” भनेको छ। साथै नेपाली सेनाको यस्तो भूमिका “अति खेदपूर्ण” भएको उल्लेख गर्दै तत्काल सच्याउन आग्रह गरिएको छ।

यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति पनि तीव्र प्रश्न उठाइएको छ। “यदि मेयर बालेन यिनै प्रतिक्रान्तिकारी तत्वहरूसँग सहकार्य गरिरहेका हुन् वा सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने, उनलाई पनि प्रतिक्रान्तिका नायकको रूपमा चिनिनेछ,” वक्तव्यमा भनिएको छ।

आन्दोलनले आगामी संघर्षका लागि जनताको व्यापक साथ आवश्यक रहेको जनाउँदै “जेनजीहरू फेरि सडकमै जानुपर्ने अवस्था देखिँदैछ” भनेको छ। साथै, नेपाली संविधान २०७२ लाई नै ‘सबैभन्दा बलियो किल्ला’ ठहर गर्दै त्यसकै संरक्षण र पालना गर्दै अगाडि बढ्नुपर्ने स्पष्ट गरिएको छ।

“अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान नहुने सुनिश्चित गर्नुपर्छ,” आन्दोलनले जोड दिएको छ।

वक्तव्यको अन्त्यमा भनिएको छ, “जी क्रान्तिलाई सफल बनाऔं। प्रतिक्रान्तिलाई परास्त गरौं। शहीदको बलिदानलाई सार्थक बनाऔं।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij