२०८३ असोज ५ सोमबार

संविधानसम्मत र लोकतान्त्रिक विधिबाट समस्या समाधान गर्न राष्ट्रपतिलाई एमालेको अपिल

ई आर्थिक    बुधबार, भाद्र २५ २०८२
3.2K
Shares
संविधानसम्मत र लोकतान्त्रिक विधिबाट समस्या समाधान गर्न राष्ट्रपतिलाई एमालेको अपिल

काठमाडौं : नेकपा एमालेले देशमा उत्पन्न असामान्य परिस्थितिलाई संविधानसम्मत र लोकतान्त्रिक विधिबाट समाधान गर्न राष्ट्रपतिलाई अपिल गरेको छ।

पार्टीका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त विज्ञप्ति जारी गर्दै जेन-जेड आन्दोलनले उठाएका मागहरूप्रति गम्भीर ध्यान दिँदै राष्ट्रपति समक्ष आवश्यक पहलको आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न राजनीतिक संकटको समाधान संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ। सार्थक र परिणाममुखी संवादमार्फत युवाहरूका मागहरूलाई सम्बोधन गर्न राष्ट्रपतिको पहल आवश्यक छ।”

१९ जना युवाको निधनले सिङ्गो राष्ट्र मर्माहत

एमालेले आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जना युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै ४ सयभन्दा बढी घाइतेहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै पार्टीले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।

मुलुकभर हिंसा, आगजनी र तोडफोड — ‘जेलबाट हजारौँ कैदीबन्दी बाहिरिए’

विज्ञप्तिमा हालै देशभर भएका हिंसात्मक घटनाले समाजलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ। “सङ्घीय संसद भवन, राष्ट्रपति भवन, सिँहदरबार, सर्वोच्च अदालत, प्रहरी कार्यालय लगायतका संरचनामा क्षति पुगेको छ,” विज्ञप्तिमा भनिएको छ, “जेलबाट गम्भीर कसुरमा दोषी ठहर भएका हजारौँ कैदीबन्दी बाहिरिएका छन्।”

सार्वजनिक तथा निजी सम्पत्तिमा खर्बौँको क्षति भएको भन्दै पार्टीले दोषी पहिचान गरी कारबाहीको माग गरेको छ।

‘शान्तिपूर्ण प्रदर्शनमा हिंसा कसरी र किन भयो — सत्य बाहिर आउनुपर्छ’

एमालेले शान्तिपूर्ण प्रदर्शनको पूर्व घोषणा र आयोजकहरूको स्पष्टिकरणका बाबजुद पनि मुलुकभर भड्किएको हिंसात्मक गतिविधिबारे सत्यतथ्य छानबिनको माग गरेको छ। “यस्ता विध्वंसात्मक घटनाहरू कसबाट र किन गराइए, यसको यथार्थ बाहिर आउनुपर्छ,” उनीहरूले भनेका छन्।

सुरक्षाका लागि सेना सहित सबै सुरक्षा निकायलाई आह्वान

पार्टीले जनताको जिउधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको रक्षा गर्न नेपाली सेना सहित सबै सुरक्षा निकायलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

‘राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनलाई बचाउन सबै एकजुट बनौं’

गम्भीर परिस्थितिमा पार्टीका सम्पूर्ण सदस्यलाई एकताबद्ध, संयमित र जनउत्तरदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, “हामी निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्व र अनेक संकटहरूसँग जुझ्दै यहाँसम्म आइपुगेका हौं। अहिलेको प्रतिकूल अवस्था पनि अवश्य बद्लनेछ।”

एमालेको अपिलले अहिलेको संकट समाधानका लागि संविधान, लोकतन्त्र र संवादको मार्गलाई विकल्पका रूपमा अघि सारेको छ। पार्टीले राष्ट्रपतिबाट पहलको अपेक्षा गर्दै लोकतान्त्रिक मूल्यहरू जोगाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij