ई-आर्थिक,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) अर्को सूचना नआउञ्जेलसम्मका लागि बन्द गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज दिउँसो ११:३० बजे सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
प्राधिकरणका अनुसार काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, र विषम परिस्थितिका साथै विमानस्थल वरपरको आकाशीय मार्गमा देखिएको धुँवाले विमान सुरक्षामा गम्भीर असर पुर्याउने खतरा देखिएको छ। यसै कारणले सुरक्षाका दृष्टिकोणले विमानस्थल बन्द गर्ने निर्णय लिइएको जनाइएको छ।
यात्रुहरूलाई सूचना नआएसम्म विमानस्थलमा नआउन आग्रह
प्राधिकरणले विमानस्थल बन्द रहेको अवस्थामा यात्रुहरूलाई विमानस्थलमा नआइदिन अनुरोध गरेको छ। साथै, विमानस्थल पुनः सञ्चालनमा आएको सूचना प्राप्त भएपछि मात्र सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी विमानस्थलमा आउन अनुरोध गरिएको छ।