२०८३ साउन १२ मंगलबार

शान्ति सुरक्षामा सेनाको कडा सतर्कता, नागरिक सहकार्यमा जोड

ई आर्थिक    बुधबार, भाद्र २५ २०८२
2.1K
Shares
शान्ति सुरक्षामा  सेनाको कडा सतर्कता, नागरिक सहकार्यमा जोड

ई-आर्थिक, काठमाडौं । मुलुकमा शान्ति, स्थायित्व र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि नेपाली सेना देशभर अझ सक्रिय बनेको छ। हाल विभिन्न स्थानहरूमा देखिएका विध्वंसात्मक तथा अराजक गतिविधिका सम्भावनालाई मध्यनजर गर्दै सेनाले विशेष सुरक्षा सतर्कता अपनाएको छ।

यस्ता गतिविधि देखिएमा तुरुन्त जानकारी दिन आग्रह गर्दै सेनाले ९८६३०२९०२९ नम्बरमा ह्वाट्सएप वा भाइबरमार्फत एसएमएस पठाउन अनुरोध गरेको छ। नेपाली सेनाको यो कदम सुरक्षाकर्मी र नागरिकबीच प्रत्यक्ष र प्रभावकारी सूचना आदानप्रदानलाई बलियो बनाउने उद्देश्यले चालिएको हो।

सुरक्षा निकाय पुग्नुअघि स्थानीय समुदाय स्वयं सतर्क रहन, एकजुट भई निगरानी गर्न र यथासम्भव घटनाबारे सही सूचना साझा गर्न सेनाले सबैमा आह्वान गरेको छ। टोलछिमेकमा शान्ति कायम राख्न नागरिकस्तरबाट हुने सक्रियता देशको सुरक्षा सुदृढीकरणमा महत्त्वपूर्ण हुने सेनाको विश्वास छ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रामक तथा अतिरञ्जित सूचना फैलाउने गतिविधि तीव्र बन्दै गएका सन्दर्भमा सेनाले यस्ता अप्रमाणित र भ्रामक सूचनाहरूलाई बेवास्ता गर्न र केवल प्रमाणित, यथार्थ सूचना मात्र साझा गर्न सबैमा अपील गरेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी शान्ति सुरक्षा र अमनचयन कायम राख्न चौबीसै घण्टा खटिइरहेका छन्। सेनाले चुनौतीपूर्ण परिस्थितिमा पनि निरन्तर तयारी र सक्रियता जारी राखेको स्पष्ट पारेको छ। यसका साथै, सेनाले देशको सुरक्षा प्रणालीलाई थप सबल बनाउने उपायका रूपमा नागरिक सचेतना, सहकार्य र सामुदायिक एकतालाई अत्यावश्यक बताएको छ।

सेनाको धारणा छ — जब नागरिक सचेत, जिम्मेवार र एकजुट हुन्छन्, तब मात्र स्थायित्व र शान्तिको वातावरण दीगो रूपमा कायम रहन सक्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij