ई-आर्थिक, काठमाडौं । नेपालका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गरेका छन् । हिजोदेखि काठमाडौंसहित देशका विभिन्न भाग हरूमा भएको विरोध प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकारले संयमता अपनाउन सबै नागरिकहरूमा अपिल गरेको छ।
प्रदर्शनका क्रममा केही नागरिकले ज्यान गुमाएको घटनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, यस्ता घटनाबाट थप क्षति नहोस् भनेर सबै पक्षलाई संयमित रहन आग्रह गरिएको छ।
प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा उत्पन्न परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सम्बद्ध सबै पक्षहरूबीच छिटोभन्दा छिटो राजनीतिक संवाद थाल्नुपर्नेमा सरकारले जोड दिएको छ।
संयुक्त रूपमा जारी गरिएको अपिलमा प्रमुख सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाको हस्ताक्षर रहेको छ।
सरकारले असन्तोषलाई शान्तिपूर्ण ढंगले व्यवस्थापन गर्न आग्रह गर्दै सबै नागरिक, राजनीतिक दल र सरोकारवालाहरूलाई सहनशीलता र संवादको बाटो अपनाउन आह्वान गरेको छ।