काठमाडौं । अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले हालै काठमाडौं र नेपालका विभिन्न स्थानहरूमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन्।
संयुक्त प्रेस विज्ञप्तिमार्फत दूतावासहरूले घटनाका कारण ज्यान गुमाउने अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
“यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं,” विज्ञप्तिमा उल्लेख छ।
दूतावासहरूले शान्तिपूर्ण सभा तथा अभिव्यक्तिको स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारभूत अधिकार रहेको भन्दै त्यसप्रति आफ्नो दृढ समर्थन पुनः दोहोर्याएका छन्। साथै, सबै पक्षलाई संयमता अपनाउन, परिस्थिति थप बिग्रिन नदिन र शान्तिपूर्ण संवादमार्फत समाधान खोज्न आह्वान गरिएको छ।
“हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।
नेपालमा भदौ २३ गते युवापुस्ताको नेतृत्वमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएको र सयौं घाइते भएको घटनापछि देश–विदेशबाट चासो व्यक्त भइरहेका छन्। नौ वटा लोकतान्त्रिक मुलुकका दूतावासहरूबाट आएको यो संयुक्त प्रतिक्रिया त्यसैको निरन्तरता हो।